
कोहलपुर – भारोत्तोलन खेलाडी सन्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन्।
बुधबार बिहान बाँकेको राप्तिसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन्।
मंगलबार काठमाडौँमा मृत अवस्थामा भेटिएकी चौधरीको शव उनको गृह जिल्ला बाँके लगिएको थियो। बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। चौधरीलाई अन्तिम श्रद्धाञ्जली दिन बेलासपुर पुगेका मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन्।
मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए।
१३ औँ दक्षिण एसियाली खेलकुदमा भारोत्तोलनतर्फबाट स्वर्ण पदक विजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएकी थिइन्।
प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षीया चौधरी मंगलबार बिहान ५ः३० बजे मृत अवस्थामा भेटिएकी थिइन्। चौधरीको उनकै गृहनगरमा बुधबार धार्मिक विधिअनुसार अन्तिम संस्कार गरिएको छ।