जेठदेखि बैंक तथा वित्तीय संस्था पनि साताको दुई दिन बन्द

काठमाडौँ— सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै जेठदेखि बैंक तथा वित्तीय संस्थामा पनि उक्त निर्णय लागू हुने भएको छ। उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउसलगायत संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो।

अब जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ। आइतबार बिदा हुने भएपछि बाँकी सबै दिनको कार्यालय समय भने बढाइएको छ। जसअनुसार सोमबारदेखि मंगलबारसम्म बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय हुनेछ। तर, कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ः३० देखि साँझ ४ः३० सम्म हुनेछ।

‘दसैं तिहारको सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि आवश्यकीय बैंकिङ सेवालाई नियमित गर्न आवश्यकताअनुसार कर्मचारी खटाई, अत्यावश्यक सेवा, राजस्व कारोबार गर्ने शाखा/काउन्टर, क्लियरिङ काउन्टर र नेपाल क्लियरिङ हाउस खुला गर्ने व्यवस्था मिलाउने,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।

सेवाग्राहीको एकै दिन सम्पन्न हुने सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चिततासहित सेवा प्रवाहको व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

बैशाख २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्