मतदाता परिचयपत्र नभए अन्य आधिकारिक परिचयपत्रले पनि भोट हाल्न पाइने

फाइल तस्विर

काठमाडौँ – शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य नभएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले हराएका वा यसअघि नलिएका व्यक्तिलाई निवेदन दिएर परिचयपत्र लिन आह्वान गरे पनि मतदानका क्रममा भने त्यो अनिवार्य नहुने सूचना जारी गरेको हो।

व्यक्तिको पहिचान खुल्ने आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन मतदान अधिकृतहरुलाई आयोगले निर्देशन दिएको छ।

आयोग भनेको छ, ‘मतदान परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यहोरा जानकारी गराइन्छ।’

अन्य परिचयपत्र भन्नाले व्यक्तिको नागरिकता, सवारी चालक लाइसेन्स, पासपोर्ट र यस्तै अरु सरकारी निकायबाट आधिकारिक रुपमा जारी भएका परिचयपत्रका आधारमा मत खसाल्न पाउने व्यवस्था आयोगले गरेको छ।

मतदानका लागि फोटोसहितको मतदाता नामावलीमा उल्लेख भएको हुनुपर्नेछ। आयोगको मतदाता नामावलीमा नाम नभएको व्यक्तिले भोट खसाल्न पाउँदैन।

निर्वाचन आयोगले भनेको छ, ‘आसन्न स्थानीय तह सदस्य निर्वाचनमा मतदाता नामावालीमा नाम भएका मतदाताले मात्र…मतदान गर्न पाउने व्यहोरा जानकारी गराइन्छ। मतदाता नामावलीमा नाम नभएका व्यक्तिले कुनै पनि हालतमा मतदान गर्न सक्ने छैन।’

आयोगका अनुसार शुक्रबार हुने मतदानमा देशभरबाट एक करोड ७७ लाख मतदाता छन्।

बैशाख २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्