ल्याबका कर्मचारी निर्वाचनमा खटिँदा हुम्ला अस्पतालको ल्याब सेवा बन्द

सिमकोट – जिल्ला अस्पताल हुम्लाको ल्याबमा काम गर्ने कर्मचारी निर्वाचनमा खटिँदा अस्पतालको ल्याब सेवा बन्द भएको छ। अस्पतालको ल्याब सेवा प्रभावित भएपछि उपचारका लागि आउने बिराभी मर्कामा परेका छन् ।

गएको चार दिन देखि अस्पतालमा भर्ना हुँदै आएका बिरामी कर्णजित रावतले खकारको ल्याब परिक्षण गर्न नपाउँदा रोग पत्ता नलागेको बताए। उनले चिकीत्सकले ल्याब परिक्षणको रिपोर्ट बिनै चेक जाँच गर्ने र आफूले रोगको लक्षण बताएअनुसार औषधी दिने गरेको बताए । अस्पतालमा भर्ना भएको तीन दिनभए पनि आफूलाई सुुधार हुन नसकेको बताउँदै उनले आफू समस्यामा परेको बताए ।

अस्पतालमै भर्ना भएकी अर्की बिरामी राधिका रोकायाले पखाला लागेर हैरानीमा परे पनि दिसाको परिक्षण हुन नसकेको बताईन ।

अस्पतालका चिकीत्सक रोशन खनालले २६ गतेबाट अस्पतालमा ल्याब सेवा बन्द रहेको कारण उपचारमा समस्या भई रहेको बताए ।

दैनिक आठ देखि दशजना बिभिन्न रोगका ल्याब परिक्षण गर्नु पर्ने बिरामी अस्पतालमा आउने गरेको भएपनि रोगका लागि बिरामी परिक्षण बिनै उपचार गरी फर्कन्छन्। अस्पतालको ल्याबमा रहेका ६ जना कर्मचारी नै सबै स्थानीय तहको निर्वाचनमा खटिएका छन्।

हाल अस्पतालमा सातजना बिरामी भर्ना भएका छन्। अस्पतालको ल्याबमा बादिसा, पिसाब, खकार, रगत लगाएतका सात प्रकारको ल्याब परिक्षण हुने गरेकोमा अहिले ती कुनै पनि हुन नसकेको स्वीकार गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले ल्याब सेवा खाली हुने गरी कर्मचारीको विवरण आएको थाहा नभएको र त्यसको व्यवस्था अस्पतालले गर्नुपर्ने जनाएको छ । ल्याब सेवा बन्द भएर बिरामीको उपचारमा समस्या भएको भए पनि चिकीत्सक सहित अन्य जनशक्तिबाट बिरामीको उपचारमा कुुनै कमी हुन नदिएको अस्पतालले जनाएको छ ।

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्