सांकेतिक तस्बिर।

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ।

बुधबार राति करिब साढे १ बजे झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

प्रहरी कार्यालय पथरीका अनुसार कानेपोखरी २ को बजार नजिक दुवै समूहबीच झडप भएको हो। झडपमा परी राष्ट्रिय युवा संघ मोरङका अध्यक्ष नविन पौडेल घाइते भएका छन्।

टाउकोमा चोट लागेका पौडेल सामान्य उपचारपछि घरमा रहेका छन्। पौडेल कानेपोखरी ६ का स्थानीय समेत हुन्।

घटनापछि प्रहरीले एउटा मोटरसाइकल बरामद गरेको छ। मौन अवधिमा समेत दुवै समूह मतदातालाई प्रभावित पार्न स्थानीय दलेली बजार विपन्न बस्ती पुगेपछि भएको झडप भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मोरङ प्रहरी प्रमुख कोइरालाले घटनामा संलग्नको खोजी भइरहेको जानकारी दिए।

स्थानीयका अनुसार राति सुकुम्बासी बस्तीमा वडा नम्बर २ का एमालेका निवर्तमान अध्यक्ष तथा हालका वडाध्यक्षका उम्मेदवार सुशील बुढाथोकी र पौडेलसहितको टोली घटनास्थलमा पुगेको खबर कांग्रेसी कार्यकर्ताले पाएपछि झडपको अवस्था भएको हो।

सो क्रममा वडाध्यक्षका उम्मेदवार मोटरसाइकलमा भाग्न सफल भए पनि पौडेललाई स्थानीयले रोकेका थिए। हाल प्रहरीले दुवै राजनीतिक दलका नेता कार्यकर्तालाई छलफलका लागि बोलाएको छ।

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्