फाइल तस्बिर।

काठमाडौँ – शुक्रबार स्थानीय तहको चुनावका लागि भोट हाल्ने दिन। सरकारले तोकेका विभिन्न ठाउँमा भोट हाल्नेहरुको भिडभाड धेरै हुने हुँदा कोरोना भाइरसको उच्च जोखिम रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

संक्रमण घट्दै गए पनि छिमेकी देश भारतमा नयाँ संक्रमणको संख्या दैनिक रुपमा बढ्दो छ। अहिले भारतमा ओमिक्रोनको नयाँ भेरियन्ट ‘बीए २.१२’ संक्रमण बढ्दै गएको छ।

स्थानीय चुनावका लागि विभिन्न सिलसिलामा भारत गएका नेपालीहरु फर्किरहेका छन्। उनीहरु नेपाल फर्किएसँगै कोरोना भाइरसको संक्रमण पनि भित्रिन सक्ने सम्भावना उच्च रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले बताए।

‘नेपालमा संक्रमण पुष्टि हुने संख्या कम छ। तर पनि विभिन्न ठाउँमा संक्रमण बढिरहेको हिसाबले र हामीकहाँ भिडभाड बढिरहेको र भारतलगायत संक्रमण फैलिएका ठाउँबाट नेपाल आउनेहरु संख्या बढी भएका कारणले संक्रमणको जोखिम बढी छ’, उनले भने, ‘यसमा चुनालाई लिएर अलि बढी नै ख्याल गर्नुपर्ने देखिएको छ। पछिल्लो समयलाई मध्यनजर गर्ने हो भने दैनिक पुष्टि भएको संख्यालाई हेरेर कम भयो वा कोरोना भाइरसको संक्रमण सकियो भन्ने सोच्नु घातक हुन्छ।’

यस्तै संक्रमणको जोखिम कम गर्न मास्क प्रयोग अनिवार्य रहेको विज्ञहरुले बताएका छन्। कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सबैभन्दा प्रभावकारी मानिएको मास्कको समेत पछिल्लो समय प्रयोग कम हुँदै गएको छ। संक्रमणबाट जोगिनका लागि विज्ञहरु बारम्बार मास्कको प्रयोग गर्न सुझाव दिँदै आएका छन्।

भिडभाडमा जाँदा सङ्क्रमणबाट जोगिनका लागि र अन्य व्यक्तिलाई संक्रमणको जोखिमबाट जोगाउनका लागि मास्कले महत्वपूर्ण भूमिका खेल्ने डा. अधिकारी बताउँछन्।

‘पहिलो र दोस्रो लहरमा अधिकांश मानिसहले मास्कको प्रयोग गरेको पाइन्थ्यो। तर अहिले मानिसहरुले मास्कको प्रयोग एकदमै कम गर्न थालेको देखिन्छ। तर यसको उपयोगिता एकदमै धेरै छ’, उनले भने,‘यो अवस्थामा मास्कको अत्यन्तै जरुरी छ। बोल्दा हिँड्दा मास्क खोल्ने गर्नु हुँदैन। मास्कको प्रयोग गर्न एकदमै धेरै आवश्यक छ। चुनावको प्रचार–प्रसारमा हिँड्ने व्यक्ति तथा भोट हाल्न जानेहरु सबैले आफ्नो ठाउँबाट जनस्वास्थ्यका मापदण्डको पालना गर्न आवश्यक छ।’

डा. अधिकारीका अनुसार चुनावको दिन भोट हाल्न जाँदा दूरी कायम गर्ने, भिडभाडमा नबस्ने, मास्को प्रयोग गर्न अत्यन्तै जरुरी छ। मास्कले कोरोना भाइरसको संक्रमणबाट मात्र नभएर धुवाँ–धुलोबाट हुने अन्य समस्याबाट समेत बचाउने हुँदा मास्को प्रयोग अनिर्वाय गर्न सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोला बताउँछन्।

उसो त केही समय अगाडि मास्क लगाउन प्रेरित गर्दै प्रहरीले समेत ‘तपाईंको मास्क खोई?’ अभियान संचालन गरेको थियो। तर पछिल्लो समय मास्कको प्रयोग नगर्नेको संख्या धेरै देखिन थालेको छ। मास्कलाई बेवास्ता गर्न थालिएको छ। यसले कोरोना भाइरसको संक्रमणको जोखिमसँगै अन्य सरुवा रोगको समेत जोखिम बढाउन सक्ने डा. बास्तोलाले बताए।

‘यो बेलामा कोरोना भाइरससँगै अन्य विभिन्न रोगहरुको संक्रमण बढ्न सक्छ। बर्खायाममा सर्ने रोगहरु झाडावान्ता, पखाला, टाइफाइड, हेपाटइटिस ‘ए’, ‘ई’लगायत रोगको संक्रमणको जोखिमको बेला हो यो। फूड पोइजनिङ् गराउने व्याक्ट्रियाको इन्फेक्सन हुने समय हो’, उनले भने, ‘अहिले मुख्य रुपमा कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मास्क लाउनु त पर्‍यो नै। त्योबाहेक दूषित खानेपानी, झिंगा भन्केको खाने कुराहरु खानु हुँदैन। यस्ता खानेकुराले विभिन्न रोगले संक्रमणको जोखिम बढाउँछन्।’

त्यसैगरी भोट हाल्न जाँदा खोप नलगाएका व्यक्तिलाई संक्रमणको जोखिम अझ धेरै हुने जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनीले बताए।

उनले भने,‘खोप नलगाएका धेरै जोख हुन्छ। लगाएका अलि कम हुन्छ। खोप लगाएकाहरुको मृत्यु हुने सम्भावना कम हुन्छ। तर नलगाएकाको ज्यानै जान सक्छ। खोप नलगाएका व्यक्तिहरु ग्रामीण अनि दुर्गम क्षेत्रमा धेरै छन्। खोप कार्यक्रमको पहुँच छैन धेरै ठाउँमा अहिलेसम्म पनि।’

भोट हाल्न पुगेकाहरुलाई संक्रमण नहोस् भन्नका लागि जनस्वास्थ्यका मापदण्डको पालना गर्नु पर्ने डा. मरासिनीले बताए।

उनले भने,‘मास्क अनिवार्य गर्नुपर्छ। मास्क नलगाएर भोट गएकाहरुका लागि मास्कको व्यवस्था गरिदिन आवश्यक छ। त्यस्तै स्यानिटाइजरको व्यवस्था गर्नु पर्छ। लाइनमा बस्दा दुई मिटरको दूरी कायम गराएर मात्रै भोट हाल्ने व्यवस्था गराउनु पर्छ।’

चुनावपछि के संक्रमण बढ्न सक्ला?


डा. अधिकारीका अनुसार चुनावको बेलामा संक्रमणको अवस्था कस्तो रहन्छ भन्ने पूर्वाअनुमान गर्दा संक्रमण बढ्दै जाने देखिएको छ। योभन्दा अगाडिको लहरलाई हेर्ने हो भने पनि संक्रमण फैलिएको देखिएको छ।

भोट हाल्न पुगेका कोही संक्रमित छन् भने उनीहरुबाट संक्रमण अरुमा फैलिने सम्भावना धेरै रहेको डा. मरासिनीले बताए।

उनले भने, ‘चुनावपछि संक्रमण फैलिने खतरा धेरै रहेको देखिएको छ। संक्रमणको उच्च खतरा छ किनभने करिब १५ प्रतिशत १८ वर्षभन्दा माथिका व्यक्तिले खोप नै लगाएका छैनन्। त्यस्तै ठूलो संख्यामा बच्चाहरुले खोप लगाएका छैनन्। ठूला व्यक्तिहरुबाट बच्चाहरुमा संक्रमण फैलिएर फेरि रोग फैलिने सम्भावना धेरै रहन्छ।’

त्यस्तै डा. मरासिनीका अनुसार ‘एअर करेन्ट्ली’ फरक पर्छ। जस्तै नागढुङ्गाबाट काठमाडौँतिर धेरै हावा चल्ने गर्छ। त्यस्तै मानिस नागढुङ्गातिर फर्केर लाइन बसिरहेका छन् भने त्यो हावाले अगाडि बसेको व्यक्तिको किटाणु विस्तारै पछाडि लाइन लागिरहेका व्यक्तितिर लैजान्छ। र धेरै परपरसम्मका व्यक्तिलाई संक्रमण सार्ने डर हुन्छ।

हालै नेपालमा संक्रमण न्यून अवस्थामा भए पनि अन्य देशहरुमा संक्रमण बढिरहेका कारण जोखिम रहिरहने डा. बास्तोलाले बताए।

कतिले लगाए खोप?


नेपालको कुल जनसंख्याको ३२.४ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन्। बुधबारसम्म कुल जनसंख्याको १ करोड ९७ लाख ३५ हजार १५३ जनाले पूर्ण खोप लगाएका तथ्याङ्क स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ। यस्तै २ करोड २३ लाख ४४ हजार ९८० जनाले पहिलो डोज लगाएको तथ्याङ्कमा उल्लेख गरिएको छ।

त्यसैगरी लक्षित समूहको ८४.६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएका छन् भने ९५.८ प्रतिशतले पहिलो लगाएका छन्।

खोप अभियान सुरु भएदेखि बुधबारसम्म ४ करोड २४ लाख १० हजार ८२० मात्रा खोप लगाइसकेको छन्। जसमध्ये एक करोड ८९ लाख ७० हजार ९८५ जनाले पहिलो डोज, १ करोड ८७ लाख ३५ हजार १५३ जनाले दोस्रो डोज र ३७ लाख ४ हजार ६८२ जानले अतिरिक्त डोज लगाएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म ५ करोड ३३ लाख ८१ हजार ६७० डोज खोप नेपालले प्राप्त गरिसकेको छ।

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्