प्रधानमन्त्री पत्नी आरजु र प्रचण्डपुत्री गंगालाई पनि सोध्यो आयोगले स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले बिहिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको जानकारी गराएको हो।

भोलि देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुन गइरहेको छ। स्थानीय तह निर्वाचन अन्तर्गत मंगलबार रातिदेखि मौन अवधि चलिरहेको छ। निर्वाचन हुनभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि सुरु हुने व्यवस्था छ।

आचारसंहिता पालनामा आयोगले विशेष सजगता अपनाएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

उनले भने, ‘यस अवधिमा आचारसंहिताको कार्यान्वयनको लागि नियमित अनुगमन संयन्त्रका साथै निर्वाचन अनुगमन टोलीले पनि काम गरिरहेको छ। विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त उल्लंघन गरेका सूचनालाई पनि आयोगले जानकारीमा लिइ आवश्यक कार्यहरु गरिरहेको छ।’

आचारसंहिता लागू भएयता हालसम्म आचारसंहिता उल्लंघनका घटनामा ६६ वटा स्पष्टिकरण सोधिएको र ९ वटा सचेत, १ वटा ध्यानाकर्षण गराइएको उनले बताए।

निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी मौनअवधिमा क्रियाकलाप गरेको विषयमा आयोगले नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र नेकपा (माओवादी केन्द्र) का बागमती प्रदेश कमिटी सदस्य गंगा दाहाललाई वैशाख २८ गते २४ घण्टे स्पष्टीकरण सोधेको छ।

आयोगले मतदातालाई अनुचित प्रभाव पार्ने गरी अभिव्यक्ति दिएको विषयमा परेको उजुरीका आधारमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. आरजु राणा देउवालाई वैशाख २८ गते २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको छ। राणाविरुद्ध कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भनि आयोगमा उजुरी परेको थियो।

यस्तै आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चितवनको भरतपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिका सम्बन्धमा वैशाख २८ गते पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण बुझाउन पत्राचार गरेको छ।

दाहालले वैशाख २३ गते भरतपुरमा आयोजित सभामा भरतपुर महानगरको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई मतदान नगरी पराजित गराएमा देश दुर्घटनामा जानसक्ने भनि आम मतदातालाई धम्क्याएका थिए।

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्