सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि सुवासलाई

काठमाडौँ – सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन्।

गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछिपार्दै उपाधि जितेका हुन्।

यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडीसमेत बनेका छन्। १३ औँ सागका दुई स्वर्ण विजेता सुवासले यसअघि २०१९ मा सूर्य नेपाल च्यालेन्ज र अप्रिलमा सूर्य नेपाल वेस्टरन ओपन जितेका थिए।

अन्तिम दिन ४ अन्डर ६८ अंक जोडेका सुवासले कुल १९ अन्डर २ सय ६९ अंक जोडे। शुक्र र भुवनले कुल १२ अन्डर २ सय ७८ अंक जोडेका थिए। व्यावसायिक खेलाडीतर्फ संयुक्त पहिलो बनेका शुक्र र भुवनले समान १ लाख ११ हजार ५ सय प्राप्त गरे। एमेच्योर खेलाडी भएकाले सुवासले नगद पुरस्कार भने प्राप्त गर्न सकेनन्।

रवि खड्का ६ अन्डर २ सय ८२ अंकसहित समग्रमा चौथो तथा व्यावसायिकतर्फ तेस्रो बने। उनले ६५ हजार प्राप्त गरे। निरज तामाङले कुल ६ अन्डर २ सय ८४ अंकसहित चौथो बन्दै ५३ हजार ५ सय नगद पाए।

धन बहादुर थापाले ३ अन्डर २ सय ८५ अंकसहित पाँचौँ बन्दै नगद ४५ हजार प्राप्त गरे। नेपाल गल्फर एसोसियनले आयोजना गरेको प्रतियोगितामा ३१ प्रोफेसनल र १३ एमेच्योर गल्फरको सहभागिता रहेको थियो।

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्