अभियन्ता शिवप्रकाशसँग अन्तर्वार्ता

सरकारले भिजिट नेपाल जस्तै भिजिट मदरल्याण्डको अवधारणा ल्याउनुपर्छ (भिडियो)

काठमाडौं- रोजगारीको सिलसिलामा होस् या पढाइको सिलसिलामा विदेशिने नेपालीहरुको ठूलै जमात छ। कोही रहरले विदेशिएका छन् भने कोही बाध्यताले पनि विदेशिएका छन्। रहरले विदेशिएका हुन् या त बाध्यताले उनीहरु सबैको मनमा नेपालीपन र नेपालप्रतिको माया भने कहिल्यै मरेको हुँदैन।

नेपाललाई वा नेपालीलाई केही दुख आइपरे विदेशमा रहेका नेपालीहरुले थुप्रै सहयोग गरेको खबरहरु पनि हामीले बेला बेला सुन्ने गरेका छौं। खास गरेर अमेरिका, अष्ट्रेलिया लगायतका देश जाने नेपालीहरुको संख्या धेरै छ। तर नेपालमा कुनै समस्या आइपरे उनीहरु नै सबैभन्दा सुरुमा सहयोग गर्न तयार हुन्छन्। यस्तै एक उदाहरण हुन् लेखक तथा सामाजिक अभियन्ता शिवप्रकाश। उनी विगत २२ वर्षदेखि अमेरीकामा बस्दै आएका छन्। अमेरिकामा बस्दै आएको भएपनि नेपालप्रतिको माया र नेपालीपन कहिल्यै नमरेको उनी बताउँछन्।

‘मातृभुमि भनेको हाम्रो रुट हो। कहिले पनि नमेटिने रुट हो,’ विभिन्न स्थानको उदाहरण दिँदै उनले भने, ‘मातृभुमिसँगको सम्बन्ध अटूट हुन्छ, कतिले बुझ्छन् कतिलै बुझ्दैनन्, त्यो अलग कुरा हो। हामीजस्ता मान्छेहरुको चाहिँ शरीर मात्र त्यहाँ हुन्छ, मन मुटु सधैँ मातृभुमिमै हुन्छ।’

युवराज घिमिरेसँगको कुराकानीमा उनले भनेका छन्- कहिलेकाहिँ म ५ डलरको खाजा खान पनि हिचकिचाउँथे। मैले ५ डलर बचाएर एउटा नेपालीलाई सहयोग गर्न पाएँ भने त भन्ने लाग्थ्यो मलाई।’

सामाजिक अभियन्ता समेत रहेका डा. गोविन्द केसी अनशनमा बसेका बेला शिवप्रकाशले नैतिक रुपमा समेत सहयोग गरेका थिए। उनी भन्छन्, ‘उहाँ अनसन बस्नुभएको बेला मैलै उहाँको बारेका थुप्रै लेखहरु पढेँ, को हुन् डा. केसीर? उनले किन यो सब गरिरहेका छन् भन्नेबारे बुझेँ र उहाँलाई निरन्तर समर्थन गरिरहेँ। मैले उहाँको साथ कहिलेपनि छोडिन।’

त्यतिमात्र होइन, नेपाल र नेपालीलाई केही दुख आइपरे शिवप्रकाश सहयोगका लागि सुरुमै हात फैलाउँछन्।

नेपाल पर्यटकले एकदमै रुचाएको देश पनि हो। सरकारले यिनै कुरालाई मध्यनजर गर्दै भिजिट नेपाल २०२० को अवधारणा समेत ल्याएको थियो। तर मुलुकभर महाहारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण यो अभियान सम्पन्न हुन सकेन।

नेपालमा विदेशी पर्यटकलाई भित्र्याउने सन्दर्भमा शिवप्रकाशको अवधारणा केही फरक छ। ‘पर्यटक भन्नासाथ सेतो कपाल भएको गोरो छाला भएका व्यक्ति मात्र हुन् भन्ने सोचमा परिवर्तन आउनुपर्छ,’ उनी भन्छन्, ‘अब कालो कपाल भएकाहरुलाई पर्यटकका रुपका नेपाल भित्र्याउनुपर्छ। त्यो भनेको म जस्तै नेपालबाट विदेश गएर दुई तिन पुस्ता बिताइसकेका व्यक्तिहरुलाई नेपाल भित्र्याउनुपर्छ। त्यसबाट नेपाललाई फाइदा पनि छ।’

आफ्नो ठाउँ आएर केही बढी पैसा खर्च भए पनि खुसी लाग्ने अनुभव उनी सुनाउँछन्।

सरकारले विदेशिएका नेपालीहरुलाई स्वदेशमा पर्यटकको रुपमा भित्र्याउने गरी कार्यक्रमहरु ल्याउनुपर्ने उनी बताउँछन्।

उनी भन्छन्, ‘सरकारले भिजिट नेपाल भने जस्तै भिजिट मदरल्याण्डको अवधारणा ल्याउनुपर्छ। यो सदाका लागि लागू हुने गरी कार्यक्रम ल्याउनुपर्छ।’

त्यस्तै नेपालमा भित्रिएको रकमबारे बैक तथा वित्तीय संस्थाहरु जिम्मेवार नहुने भएकाले पनि नेपालबाट हुण्डी मार्फत पैसा बाहिरिरहेको उनी बताउँछन्।

‘नेपालमा रकम सुरक्षित छैन, त्यो भइदिएको भए जति पनि नेपालीहरु विदेशिएका छन्, उनीहरुले आफूले कमाएको केही रकम नेपालमै केही गर्नमा लगानी गर्थे होला। यही कारणले पनि नेपालबाट करोडौं रकम बाहिरिरहेको छ,’ उनी भन्छन्।

भिजिट मदरल्यान्डलगायत विषयमा शिवप्रकाशका अवधारणाबारे युव‍राज घिमिरेको यो कुराकानी:

 

बैशाख २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्