उदयपुरमा मतदान केन्द्रमा विवाद हुँदा प्रहरीको गोली लागेर एक युवकको मृत्यु

मोरङ- उदयपुरको कटारी नगरपालिका-१० सोरुङ्गछविसेमा धाँधली गरी फर्जी मत खसाल्ने क्रममा विवाद हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। प्रहरीले चलाएको गोलीबाट अन्य एक र दलका कार्यकर्ताले ढुंगामुढा गर्दा एक प्रहरी घाइते भएको उदयपुर प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुने १८ वर्षीय वीरबहादुर कटुवालको छातीमा गोली लागेको हो। प्रहरीको गोलीले १३ वर्षीय किशोर मोहन श्रेष्ठ घाइते भएका छन्। ढुंगामुढा हुँदा प्रहरी जवान विष्णु तामाङ्ग घाइते भएका छन्।

घटनामा ज्यान गुमाएका कटुवाल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकोतर्फबाट स्वतन्त्र उमेदवार बनेका गौरबहादुर कटुवालका भतिज रहेको प्रहरीले जानकारी दिएको छ।

ढुंगामुढा हुन थालेपछि केहीले मतपेटिका लुट्ने प्रयाससमेत गरेको प्रहरीले बताएको छ।

बैशाख ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्