मोरङ – स्थानीय तह निर्वाचन अन्तर्गत मोरङ जिल्लाका विभिन्न दश पालिकामा मत गणना शुरु भएको छ।

जिल्लाको १७ वटा पालिकामध्ये शुक्रबार मध्यरातबाट दश स्थानीय तहमा मतगणना शुरु भएको हो । जसमा नगरपालिकातर्फ बेलबारी, उर्लाबारी, रंगेली र सुनवर्षी त्यसैगरी गाउँपालिकातर्फ जहदा, धनपालथान, ग्रामथान,कटहरी, कानेपोखरी र मिक्लाजुङमा गणना शुरु भएको निर्वाचन कार्यालय प्रदेश १ विराटनगरले जनाएको छ।

कार्यालयका अनुसार प्रदेश १ राजधानी विराटनगर महानगरपालिकासँगै रतुवामाई, लेटांग, पथरीशनिश्चरे, सुन्दरहरैंचा नगरपालिका र बुढीगंगा, केराबारी गाँउपालिकाको केहीबेरमा गणना सुरु हुने बताइएको छ।

जिल्ला प्रहरी कार्यालय मोरंगका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले सबै मतगणनास्थलमा सुरक्षाब्यवस्था कडा बनाइएको जानकारी दिए।

विराटनगरमा १ लाख ३३ हजार १ सय ४२ मतदातामध्ये ८९ हजार ६ सय ७८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विराटनगरमा ४३ हजार २ सय ४६ मत भने नखसेको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

विराटनगरको मतगणना आदर्श माविमा हुनेछ। मोरंगको ६ जना अन्यसहित कुल मतदाता संख्या ७ लाख १५ हजार २ सय २३ मतदाता रहेका छन्। जसमा ३ लाख ६३ हजार ४ सय ४८ पुरुष र ३ लाख ५१ हजार ७ सय ६९ जना मतदाता महिला रहेकाछन्।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्