हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद, एमाले कार्यकर्ताले गरे ढुंगामुढा

ललितपुर – ललितपुरको माहाँकाल गाँउपालिकामा मतदान अधिकृतको हस्ताक्षर नभएको १५ वटा मतपत्र भेटिएपछि विवाद भएको छ।

नेकपा एमालेकी पालिका अध्यक्ष उम्मेदवार कमला तामाङका अनुसार हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको, तर आफूलाई मतगणना स्थलमा प्रवेश गर्न रोकेको बताइन्।

उनले भनिन्, ‘मलाई विवाद भएपछि मतगणना स्थालमा प्रवेश गर्न दिइएन । गठबन्धनका उम्मेदवार गणेश केसीलाई मतगणना स्थलमा प्रवेश गर्न दिइएको छ । यसमो मेरो आपत्ति छ।’

एमाले उम्मेदवारलाई २ घण्टासम्म बाहिर राखेर गठबन्धनका उम्मेदवारहरूमात्रै भित्र बसेपछि एमाले समर्थकले ढोकामा ढुंगामुढा गरेका छन् । एमालेकी उम्मेदवार तामाङले भनिन्, गठबन्धनका उम्मेदवारलाई भित्र राखेर हामीलाई बाहिर पठाउदा शंका भयो । हाम्रा कार्यकर्ताले यो सहन सक्दैनन्।

स्वतन्त्र उम्मेदवारी दिएका भभिरथ तिमल्सिनाले जसरी पनि जित्न गठबन्धनले षड्यन्त्र गरेको आरोप लगाए।

उनले भने, ‘हस्ताक्षर नभएको मतपत्र भेटिएको अवस्थामा त्यो मतपत्र रद्द गरेर मतगणना हुनु पर्छ।’

करिव ४०० मतगणना हुँदा १०० मत रहेको बण्डलमा ११ वटा हस्ताक्षर नभएको मतपत्र भेटिएको थियो। हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना स्थलमा फेरि मतदान गर्नुपर्ने माग उठेको छ। ४०० मत गणना हुँदा विवाद भएको हो।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्