पोखरा महानगरको मतगणना दिउँसो २ बजेपछि गर्ने

काठमाडाैँ- पोखरा महानगरपालिकाको मतगणना दिउँसो २ बजेपछि सुरु हुने भएकाे छ।

शुक्रबार मतदान सकिएपछि पानी परेको र पोखरामा बत्ती गएको कारण मतपेटिका मिलाएर राख्न नभ्याएकोले आज सबै व्यवस्थापन गरेर मात्रै मतगणना सुरु गर्ने पोखरा महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए।

भट्टराईको अनुसार अहिले महानगरपालिकाभित्रका सबै वडा अनुसार मतपेटिका मिलाउने काम भइरहेको छ।

पोखरा सहिदचोकस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मत गणनाको तयारी गरिएको छ। वडा नम्बर १ देखि ११, १२ देखि २२ र २३ देखि ३३ नम्बर वडाको मत गरी तीनवटा स्टलमा मत गनिँदैछ।

पोखरा महानगरमा २ लाख ६ हजार हाराहारी मतदाता रहेकोमा १ लाख ४३ हजार मत खसेको छ। ६८ दशमलव ९६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट धनराज आचार्य र नेकपा एमालेको तर्फबाट उठेका कृष्णबहादुर थापाबीच भीडन्त हुँदैछ।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्