सर्लाहीको मलंगवा–१ मा कांग्रेसको प्यानलै विजयी, मेयर–उपमेयरमा पनि कांग्रेसकै अग्रता

जनकपुरधाम – सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ।

मलंगवा–१ मा कांग्रेसका नवल किशोर यादव ४३० मत ल्याएर वडाध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर रायले ४ सय १९ मत ल्याएका छन्।

वडाध्यक्षसहित सबै सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण भइरहेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले बताए।

यस्तै मेयर र उपमेयरमा पनि कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन्। कांग्रेसका उम्मेदवार नागेन्द्र प्रसाद यादवले ४ सय ५५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका निरसल साहले ३ सय ६६ मत ल्याएका छन्। यस्तै एमालेका शमिम खाँले ६६ मत ल्याएका छन्।

उपमेयरमा कांग्रेसकी शकुन्तलादेवी साह ४ सय १८, जसपाकी पानोदेवी ३७३ र एमालेकी चुनुदेवी चौधरीले ५ मत प्राप्त गरेकी छन्। वडा नं. १ को मतपरिणाम आइसकेको र अब वडा नं. २ र ३ मा मतगणना हुने मुख्य निर्वाचन अधिकृत पियाले बताए।

बैशाख ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्