काठमाडौँ – राष्ट्रिय सभा गृहको पछाडीपट्टि अस्त ब्यस्त रुपमा खोप लगाएका सुई फालिएको पाइएको छ।

केही समयअगाडि सभागृहमा कोरोना भाइरसविरुद्धको खोप लगाइएको थियो। उक्त ठाउँमा अहिले स्थानीय तहमा भएको चुनावको मत गणना भइरहेको छ।

खोप लगाइसकेपछि त्यसको व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरपालिकाले लिएको छ। खोप लगएका सबै वडा–वडाबाट एकै पटक उठाउने भनिएका कारण केही ढिलाइ भएको महानगरपालिकाका स्वास्थ्य प्रमुख बलराम त्रिपाठीले बताए।

‘सबै क्लिनिकका फोहोर वडा–वडामा संकलन गरिएकपछि एकै पटक डिस्पोजल गर्ने भन्ने कुरा भएर वडाको संकलन गर्न समय लागेर त्यस्तो भएको हो’, उनले भने, ‘खोप लगाएर राखियो। सभागृह बन्द भयो। त्यहाँ के के भइरहेको छ, हामीले हेर्न पनि भ्याएका छैनौँ। पर्सिबाट कार्यालय खुल्छ। त्यसपछि त्यसको व्यवस्थापन गर्छौँ।’

खोप लगाएकै दिन त्यसलाई राम्रोसँग व्यवस्थापनु गरिनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्रिपाठीका अनुसार धेरै भएको भए त्यही दिन हुन्थ्यो। तर थोरै भएका कारण एकैपटक गरौँला भनेर जम्मा गरेर राखिएको हो।
उनले भने, ‘वडाहरुले सुरक्षित रुपमै राखेका हुन्। बाँधेर राम्रै तरिकाले राखेका हौँ भन्दै हुनुहुन्थ्यो। बोरा केही कारणले फुटेर त्यस्तो भएको हुन सक्छ। त्यो मैले हेर्न भने पाएको छैन।’
यसरी जथाभावी रुपमा ‘सिरिन्ज’ फालिनु जोखिमपूर्ण मानिने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताए।
‘त्यसरी पब्लिकको पहुँचमा आउने गरी त्यस्तो सामानहरु राख्न पाइदैन। सबै जम्मा गरेर निडिलहरुलाई त्यही अनुसार व्यवस्थापन र अरुलाई त्यही अनुसार निसंक्रमण गरेर मात्रै अन्यत्र लगेर व्यवस्थापन गर्नु पर्ने हुन्छ’, उनले भने, ‘निसंक्रमण नगरिएको निडिल त्यस बाहिर राख्न पाइदैन। खोप लगाइसकेपछि ‘निडल’ तुरुन्तै डिस्पोज गर्नु पर्छ। प्रयोग भएका ‘निडल’ जथाभावी रुपमा फाल्दा अन्य व्यक्तिलाई विभिन्न किसिमको संक्रमणको जोखिम रहन्छ।’
डा. समीरका अनुसार भाइलको भाँडो हो भने त्यसलाई डिस्ट्रेलाइजेसन गर्नलाई त्यसरी राखेर पछि त्यसको व्यवस्थापन गर्न सकिन्छ। उनले भने, ‘तर निडिल त्यसरी राख्न मिल्दैन। उहाँहरुले आफैले आफैसँग राखेर त्यसलाई निडिल कटरहरुले व्यवस्थापन गरेर फाल्नु पर्ने अथवा रिसाइकल गर्ने गर्नु पर्ने हुन्छ।’