नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (मे ८ देखि १४ सम्म)

नेपालमा संक्रमणदर एकदमै कम

विश्वबाट कोरोना संक्रमण लगभग हराउन लागेको अवस्था पुगिसक्दा पनि कोरोना हराइसकेको छैन।

ठूलै दशा लागेको अवस्थाको खड्गोझैँ कोरोनाको खड्गो पनि अझै बाँकी छ। त्यति मात्र होइन, कुनै–कुनै ठाउँमा त फेरि कोरोना संक्रमण बढ्न खोजेको देखिन्छ।

विश्वमा हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको देश अमेरिका हो जहाँ हालसम्म आठ करोडभन्दा धेरैलाई संक्रमण भइसकेको छ र १० लाखभन्दा धेरैको यसैका कारण मृत्यु भइसकेको छ।

डब्लुएचओका अनुसार पछिल्लो समय त्यहाँ फेरि कोरोना संक्रमणमा केही वृद्धि भएको देखिन थालेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ यसै वर्षको मार्चमध्यतिर दैनिक संक्रमण करिब २००००–२५००० सम्म झरिसकेकामा हाल १५०००० नाघिसकेको छ।

तर, अमेरिकामा दैनिक कोरोना मृत्यु भने घट्दै गएको छ। त्यहाँ दैनिक मृत्यु संख्या अस्थिर देखिन्छ, करिब २०० देखि २०००। पछिल्लो समय त्यहाँ दैनिक मृत्यु १००० भन्दा कम भएको छ।

अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको राज्य क्यालिफोर्निया भए पनि पछिल्लो समय न्युयोर्कमा सबैभन्दा धेरै दैनिक संक्रमण देखिने गरेको छ जुन करिब १४००० नाघेको छ।

यही मार्चतिर यो संख्या १५०० भन्दा कम भइसकेको थियो। त्यस्तै फ्लोरिडा, इलिनोइस, न्युजर्सी, मसाच्युसेट्स, टेक्सास आदि राज्यमा पनि पछिल्लो समय नयाँ संक्रमणमा निकै वृद्धि भएको छ जुन दैनिक ५०००–७००० पुगेको छ।

त्यस्तै, अमेरिकाका अधिकांश राज्यमा दुई महिनादेखि दैनिक संक्रमणमा क्रमशः वृद्धि भइरहेको देखिएको छ।

करिब दुई हप्ता अघिसम्म त्यहाँको संक्रमण दर ५% भन्दा कम रहेकोमा हाल २८% नाघेको छ। यसै तथ्यको आधारमा आउने केही समयमा अमेरिकामा कोरोना संक्रमणको नयाँ लहर आउने प्रक्षेपण त्यहाँका विज्ञहरूले गर्न थालेका छन्।

त्यस्तै, पछिल्लो समय दक्षिण अफ्रिकामा फेरि नयाँ कोरोना संक्रमण लहर सुरु भएको छ भने अस्ट्रेलिया, न्युजिल्यान्ड आदि देशमा अझै पनि संक्रमण दर उच्च छ।
पाँच महिनादेखि चलिरहेको जापान र दक्षिण कोरियाको प्यान्डेमिक लहर अहिले विस्तारै केही नियन्त्रणमा आउन थालेको छ भने चीनमा यही फेब्रुअरीको अन्त्यदेखि हाल अर्थात् करिब साढे दुई महिनाभित्र दुईवटा त्यहाँको हालसम्मकै सबैभन्दा ठूला लहर आइसकेका छन्। तीमध्ये दोस्रो लहर जारी छ। मंगोलिया र ताइवानमा पनि पछिल्लो समय संक्रमण दरमा निकै वृद्धि भएको पाइएको छ ।

यसरी कोरोना संक्रमण अन्त्य हुने बेलामा फेरि नयाँ लहर आउने लक्षण पक्कै पनि राम्रो संकेत होइन। तर, युरोप तुलनात्मक रुपमा स्थिर देखिन्छ जहाँका अधिकांश देशमा कोरोना संक्रमण क्रमशः घट्दै गएको छ।

यद्यपि, जर्मनी, फ्रान्स, नेदर्लान्ड्स, अस्ट्रियालगायत देशमा संक्रमण दर हाल पनि उच्च छ।

यसै सेरोफेरोमा नेपाल र विश्वको कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा पछिल्लो विश्लेषण विभिन्न स्रोतबाट प्राप्त तथ्यांकका आधारमा तल देखाइएबमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्धृत गरिएका तथ्यांक विभिन्न स्रोतबाट लिइएका हुन् जस्तैः नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स होप्किन्स विश्वविद्यालय, डब्लुएचओ, वल्र्डमिटर, आवर वल्र्ड इन डाटा, सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर आदि।

यस लेखको उद्देश्य कोरोनासम्बन्धी तथ्यांकलाई सही रूपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकसमक्ष पुर्‍याउनु हो।
विश्वमा कोरोना प्यान्डेमिक तल–माथि हुने क्रममा दक्षिण एसिया पछिल्लो अवस्थामा शान्त देखिन्छ।

दक्षिण एसियाको पछिल्लो १५ दिन, सन् २०२२एप्रिल २७ देखि मे ११, को कोरोना प्यान्डेमिकसम्बन्धी विभिन्न तथ्यांकको विश्लेषण तल देखाइएको छ।
चित्र न. १ ले दक्षिण एसियाको पछिल्लो १५ दिनको समग्र दैनिक कोरोना संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। पछिल्लो अवस्थामा दक्षिण एसियाको दैनिक संक्रमण केही स्थिर देखिन्छ जुन गत हप्ता जस्तै दैनिक ३०००–४००० पुगेको छ।

त्यस्तै दैनिक मृत्यु पनि केही तल–माथि भए पनि स्थिर देखिन्छ। चित्र न. २ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक नयाँ कोरोना संक्रमणको प्रवृत्ति देखाएको छ।

चित्रमा देखाइएजस्तै पछिल्लो समय नेपाललगायत सबै देशमा दैनिक संक्रमण निकै न्यून छ भने भारतमा पछिल्लो समय दैनिक संक्रमण करिब ३००० हाराहारीमा छ जुन केही हप्ताअघिसम्म १००० भन्दा कम थियो। भुटानमा हाल दैनिक संक्रमण निकै कम भइसकेको छ।
त्यस्तै, चित्र न. ३ले दक्षिण एसियाका विभिन्न देशमा पछिल्लो १५ दिनको दैनिक कोरोना मृत्युको प्रवृत्ति देखाएको छ। चित्रमा देखाइएजस्तै हाल दक्षिण एसियाका सबै देशमा दैनिक मृत्यु न्यून छ।

दक्षिण एसियाली देशमा दैनिक औसत कोरोना संक्रमण दरको कुरा गर्ने हो भने जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार दक्षिण एसियाका अधिकांश देशमा दैनिक संक्रमण दर १.०%को हाराहारीमा छ। तर, अर्कोतिर हाल पनि पूर्वी एसिया र पश्चिमी युरोपमा दैनिक संक्रमण दर ५०% भन्दा माथि छ भने अमेरिकामा पछिल्लो समय कोरोना संक्रमण दरमा निकै वृद्धि भएको छ।

नेपालको दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितको संख्या हो। सन् २०२२ मे ८ देखि १४ अर्थात् ०७९ वैशाख २५ देखि ३१ गतेसम्म ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रवृत्ति चित्र न.४मा प्रस्तुत गरिएको छ। यसमा पीसीआर परीक्षणलाई मात्रै गन्ति गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, वैशाख ३१गते शनिबारसम्म, देशभरि जम्मा ६६ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या ९७८९९१ पुगेको छ। साप्ताहिक नयाँ संक्रमण संख्या दुई हप्ताअघि ११५ थियो। यसरी गत हप्ता जम्मा संक्रमण निकै कम भएको छ। त्यस्तै, साप्ताहिक मृत्यु संख्या गत हप्ता शून्य भई हालसम्म नेपालको जम्मा कोरोना मृत्यु ११९५२ पुगेको छ।

गत हप्ता जम्मा १६१८२ पीसीआर परीक्षण गरियो जुन दुई हप्ताअघि१५९६४थियो। गत हप्ता देशको कुल संक्रमण संख्यामध्ये काठमाडौँ उपत्यकाको साप्ताहिक संक्रमणअनुपात ७४.७५% देखियो जुन दुई हप्ताअघि ६७.४४% थियो।

नेपालको दैनिक संक्रमण (पोजिटिभिटी)दर

प्यान्डेमिकको मापदण्डमध्ये पोजिटिभिटी(संक्रमण दर) एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँछ।

चित्र न.५ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दर, नयाँ संक्रमण र मृत्युको प्रवृत्ति देखाएको छ। गत हप्ता पोजिटिभिटी दर न्यूनतम ०.१६% देखि अधिकतम ०.६१%सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ०.४% रह्यो जुन दुई हप्ताअघि ०.८१% थियो।

यसरी अघिल्लो साता संक्रमण संख्या र संक्रमण दर केही बढे पनि गत हप्ता यी तथ्यांक फेरि न्यून रहे। नेपालमा पछिल्लो समय दैनिक संक्रमण दरमा सुधार हुने क्रम निरन्तर देखिँदै आएको छ।

संक्षेपमा, पछिल्लो अवस्थामा विश्वका अधिकांश क्षेत्र र दक्षिण एसियामा कोरोना संक्रमण र मृत्यु दुवै निरन्तर घट्दै गएका छन्। पछिल्लो समय भारतमा पनि दैनिक कोरोना संक्रमण केही उच्च रहे पनि स्थिर देखिएको छ।

त्यस्तै, विश्वका केही देशमा हाल पनि कोरोना आतंक जारी छ। नेपालमा गत हप्ता, ०७९ वैशाख २५ देखि ३१, साप्ताहिक नयाँ कोरोना संक्रमण र संक्रमण दर न्यून छ।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ–कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ति सावित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनावश्यक भीडभाड नगर्ने आदि सावधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रवृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ–आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकविरुद्धको हाम्रो लडाइँ जारी छ, होसियारीपूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्