अघिल्लो पटक जितेको वडामा एमालेको जमानत जफत

काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिका वडा–२ मा अघिल्लोपटक जितेको एमालेको जमानत जफत भएको छ।

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले समेत खसेको मतको १० प्रतिशत ल्याउन नसक्दा लज्जास्पद हार बेहोर्नुपरेको छ। शुक्रबार भएको मतदानमा उक्त वडाबाट कांग्रेसका रणबहादुर तामाङको प्यालन नै विजयी भएको छ।

शंखरापुर नगरपालिकाकी निर्वाचन अधिकृत सीता निरौला फुयालका अनुसार निर्वाचित भएका तामाङले ६४७ मत ल्याएका छन्। प्रतिस्पर्धी माओवादी केन्द्रका कान्छाराम थिङले ४६८ मत पाएका छन्।

एमालेका जीवन लामाले जम्मा ६४ र एकीकृत समाजवादीका उदयबहादुर कार्कीले ११५ मत मात्रै पाएका छन्। १३७१ मत खसेकोमा जमानत जोगाउन कम्तिमा १० प्रतिशत हुने १३८ मत ल्याउनुपर्ने भए पनि एमाले र समाजवादी दुवै त्यो भन्दा तल झरेका हुन्।

यिनै लामा २०७४ सालको चुनावमा निर्वाचित हुँदा ३८३ मत पाएका थिए। त्यस्तै कांग्रेसका वडा अध्यक्षका प्रत्यासी अग्निप्रसाद लामिछानेले २१६ मत पाएका थिए भने त्यति बेला पनि माओवादीबाट प्रत्यासी बनेका थिङले ३६४ भोट ल्याएका थिए।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्