‘गठबन्धन मत आउने क्रम छ, आत्तिनुपर्ने अवस्था देख्दिनँ’

मोरङ – स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको प्रारम्भिक नतिजालाई लिएर आत्तिनुपर्ने अवस्था नभएको उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले बताएका छन्।

दलीय गठबन्धनतर्फको जनता समाजवादी पार्टीबाट उपमेयरका उम्मेदवार रहेका यादवले हालसम्म १ हजार ६ सय ३२ मत पाएका छन्। उनको प्रतिस्पर्धी एमालेबाट शिल्पा कार्कीले २ हजार ७ सय ६२ मत पाएकी छन्।

हाल महानगरको विभिन्न ६ वटाको मतगणना जारी रहँदा गठबन्धनबाट मेयरका उम्मेदवार नागेश कोइरालाले ३ हजार १ सय ३० मत पाएका छन्। यस क्रममा गठबन्धनको मत मेयर र उपमेयर करिब दोब्बर रहँदासमेत यादवले अहिले नै अत्तालिने अवस्था नभएको बताएका हुन्। उनका अनुसार हाल गणना भइरहेको मतपत्रमा अधिकांश बदर भएको छ।

उनले भने, ‘गठबन्धन अनुसार अहिले भोट आएको छैन। तर आत्तिनुपर्ने अवस्था पनि छैन। अहिले जति गणना भएको छ त्यसमा एमालेको केही हदसम्म पकड देखिएको थियो। अब, खुल्ने मतपेटिकाबाट अवस्थामा सुधार आउनेछ।’

वडा नम्बर १६ वर्मा टोल, वडा नम्बर १७ को झटियाहीको गणनामा अपेक्षाकृत मत आएको बताएका यादवले वडा नम्बर १७ कै मस्जिद क्षेत्रबाट गठबन्धनलाई मत आउने उल्लेख गरे।

उनले भने, ‘हार्डकोर क्षेत्रको मतपेटिका अब खुल्दै छ। त्यसमा हामी गठबन्धनले राम्रो मत प्राप्त गर्नेछाँै। अधिकांश क्षेत्रमा मत बदर भएको छ। यहाँ मतदाता शिक्षाको कमी देखिएको छ।’

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ९ हजार बढी मत गणना हुँदा मेयरमा ३ हजार ७९ मत बदर भएको छ। उपमेयरमा हालसम्म गरिएको गणनामा ४ हजार २ सय ५३ मत बदर भएको कार्यालयले जनाएको छ।

महानगरपालिकामा कुल मतदातामध्ये ६८ प्रतिशत मत खसेको थियो। जुन ८९ हजार ७ सय ८ मत खसेको थियो।

जेठ १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्