धरान उपमहानगरमा कांग्रेसकाे अग्रता कायमै, कांग्रेस र एमालेकाे समान २-२ वडामा जित

विराटनगर- सुनसरीको धरान उपमहानगरपालिकाको चारवटा वडामा मिश्रित मतपरिणाम आएको छ।

धरानस्थित निर्वाचन कार्यालयका अनुसार धरानको वडा नम्बर १ र ३ मा नेपाली कांग्रेसले जित निकालेको छ।

त्यसैगरी, वडा नम्बर २ र ४ मा भने एमालेले जित सुनिश्चित गरेको छ। वडा नम्बर १ मा कांग्रेसका यज्ञमणि आचार्यले ७ सय ५७ मत पाएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी राप्रापाका रोशन अधिकारीले ७ सय ७ मत पाए।

२०७४ सालको निर्वाचनमा अधिकारी कांग्रेसबाट निर्वाचित हुँदै वडाध्यक्ष भएका थिए। यस्तै, वडा नम्बर ३ मा कांग्रेसका विद्या शाक्य विजयी भएका छन्।

५० वर्षीय शाक्यले १ हजार ८० मत ल्याएर विजयी भएको कार्यालयले जनाएको छ। उनका प्रतिस्पर्धी एमालेका सुयोग पाख्रिनले ६ सय २५ मत पाएका थिए।

वडा नम्बर २ मा भने एमालेका रमेश राई ७ सय ४८ मतले विजयी भएका हुन्। सो वडामा पराजित कांग्रेसका सुधिरसिंह लिम्बूले ६ सय २७ मत पाएका छन्।

वडा नम्बर ४ मा एमालेका धनबहादुर राईले ८ सय २६ मतसहित विजयी भएका छन्। उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर राईले ६ सय १२ मतसहित पछ्याएका थिए। सो वडामा नेकपा एकीकृत समाजवादीका मानबहादुर राईले १ सय ५१ मत पाएका थिए।

अर्कोतर्फ, धरानको मेयरमा गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार किशोर राईले ३ हजार ३ सय २२ मतसँगै अग्रता कायम राखेका छन्। हालसम्म १० हजार १ सय ४८ मत गणना भएको छ।

जसमा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले २ हजार ५ सय ३ मत पाएकी छन्। भण्डारी निवर्तमान उपमेयरसमेत हुन्।

त्यसैगरी, गठबन्धनतर्फबाट उपमेयरका उम्मेदवार आइन्द्र विक्रम बेघाले ३ हजार ५ सय ९१ मतसँगै अग्रता बनाइरहेका छन्। उनलाई एमालेका उम्मेदवार पदमप्रसाद लिम्बूले ३ हजार मतका साथ पछ्याइरहेका छन्।

धरान उपमहानगरपालिकामा २० वटा वडा रहेका छन्।

जेठ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्