रंगेली नगरपालिकाकाे अवरुद्ध मतगणनाबारे प्रमुख आयुक्त थपलियाले लिए जानकारी

विराटनगर- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मोरङको रंगेली नगरपालिकामा अवरुद्ध मतगणना बारे जानकारी लिएका छन्।

सोमबार बिहान रंगेलीस्थित मतगणनास्थल जनता माविमा पुगेका थपलियाले नेपाली कांग्रेसका मेयरका उम्मेदवार मोदराज घिमिरे, नेकपा एमालेका उम्मेदवार दीलिप बगडिया, नेकपा माओवादी केन्द्रका उम्मेदवार रफिक आलम अन्य राजनीतिक दलका नेतासँग छलफल गरेका थिए।

छलफलपछि आयुक्त थपलियाले सबैसँगको छलफलपछि सहमतिमा मतगणना कार्य अघि बढ्ने जनाएका छन्। उनले बन्द कोठामा राखिएको मतपेटिका गणना हुने र बाँकीमा त्रुटि देखिए त्यसलाई सहमतिमा अघि बढाउने बताए।

सो क्रममा मोरङ जिल्लाका प्रमुख काशीराज दाहालले सबैतर्फ सहज वातावरण बनाएर मतगणनालाई अघि बढाउने प्रयत्न भइरहेको बताए।

रंगेलीमा कांग्रेस मेयरका उम्मेदवार मोदराज घिमिरेका अनुसार हालको छलफलले वडा नम्बर १, २ र ३ को मतगणना पुनः सुरुबाट गर्ने, नगरपालिकाको अस्थायी कर्मचारीलाई गणनास्थलमा नराख्ने र सिल टुटेको मतपेटिकाबारे थप जाँच्ने काम हुने सहमति भएको छ।

उनले हालसम्म गणना भएका सबै तीन वटा वडाको मतगणना पुनः सुरुबाट गरिने पनि बताए।

यसअघि, वडा नम्बर ८ को मतगणना गर्नुपूर्व एउटा मतपेटिका शिलबन्दी टुटेको अवस्थामा फेला परेकोमा विवाद भएको हो।

सोही कारण गएको दुईदिनबाट रंगेलीको मतगणना कार्य अवरुद्ध रहेको छ। जाँचबुझका क्रममा एउटा मात्र मतपेटिकामा समस्या देखिएको अवस्थामा सो मतपेटिकालाई थाती राखेर गणना कार्य अघि बढाइने सहमति भएको छ।

जेठ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्