एमालेले जनतासँग माफी माग्नुपर्छः वर्षमान पुन

वर्षमान पुन। फाइल तस्बिर।

रोल्पा – नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन अनन्तले निर्वाचनमा भएको पराजय स्वीकार गर्नुको साटो जनमतको अपमान हुने अभिव्यक्ति नदिन एमाले नेतृत्वलाई चेतावनी दिएका छन्।

एमालेले निर्वाचन सम्पन्न भएको तीन दिनपछि वक्तव्यबाजीमार्फत धाँधली भयो भनेर जनअभिमतको अपमान गरेको पुनले बताए। जनतालाई कमजोर नठान्न उनले एमाले नेतृत्वलाई सुझाव दिए।

निर्वाचनमा भएको पराजयलाई विगतमा आफूले गरेका गल्तीको परिणामका रुपमा स्वीकार गर्नुको साटो जनताको अभिमतलाई अपमान गर्ने कार्य निन्दनीय भएको उनको भनाइ थियो।

‘नेकपा एमालेका महासचिवले एमालेको दृष्टिकोण भनेर निर्वाचन सकिएको तीन दिनपछि आएर धाँधली भयो भन्नुभयो। यो आश्चर्यको कुरा हो’, गृहजिल्ला रोल्पाको रोल्पा नगरपालिकामा निर्वाचित पदाधिकारीलाई बधाई दिन सोमबार लिवाङमा आयोजित कार्यक्रममा पुनले भने, ‘पहिला देशैभर जित्छौँ भन्नुहुन्थ्यो। मतदान भएपछि पनि हामी जित्छौँ भन्दै हुनुहुन्थ्यो। तीन दिनपछि आएर धाँधली भयो भन्नु जनतामाथिको अपममान हो। अहिलेको लोकतान्त्रिक व्यवस्था र सचेत नेपाली जनताको अभिमतमाथिको अपमान हो। यसको हामी घोर भर्त्सना र निन्दा गर्दर्छौँ।’

आफूले जिते जनता महान र हारे यस्ता प्रकारको अभिव्यक्ति दिनु राजनीतिक अवसरवाद र बेइमानी भएको टिप्पणी उनले गरे। उनले अनावश्यक आरोपमा उत्रनुको साटो दुई तिहाईको नेकपा र दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेकामा जनतासँग क्षमा याचना गर्न एमाले नेतृत्वलाई सुझाए।

‘नेकपाको विघटन र दुई पटक संसद विघटन गर्‍यौँ। हामीबाट गल्ती भयो भनेर क्षमता याचना गर्नुभयो भने बल्ल जनताले माफी दिन्छ’, उनले भने।

पुनले एमालेले स्थानीय निर्वाचनमा भन्दा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जल्लाजनक पराजय ब्यहोर्ने दाबी गरे।

एमाले महासचिव शंकर पोखरलले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचनअघि, निर्वाचनका क्रममा र मतगणनाका क्रममा गरी तीन चरणमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका थिए।

जेठ २, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्