विराटनगर– १ र २ मा एमालेको जित, मेयरमा कोइरालाको अग्रता फराकिलो बन्दै

मोरङ – नेकपा एमालेका विराटनगर महानगर २ का वडाध्यक्ष कुमार पोखरेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

मंगलबार विहान आदर्श माविमा मुख्य निर्वाचन अधिकृतको कार्यालयद्धारा जारी गरिएको मत परिणाममा पोखरेलले १ हजार ३ सय ३४ मतसहित विजयी भए। उनले राप्रपाका पवन सुरानालाई ५१ मतान्तरले पराजित गरेका हुन्।

वडाध्यक्षका उम्मेदवार सुरानाले १ हजार २ सय ८३ मत ल्याएका छन्। एमालेका विजयी उम्मेदवार पोखरेलले यसअघि २०७४ सालमा समेत सोही वडाबाट वडाध्यक्षमा जित हासिल गरेका थिए।

त्यसैगरि, वडा नम्बर १ मा एमालेका काजी बस्नेत विजयी भएका छन्। उनले १ हजार ९ सय मत पाएर जित सुनिश्चित गरेका हुन्। उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजन न्यौपाने १ हजार ५ सय ९१ मत पाएर दोस्रो स्थानमा रहे।

यता विराटनगर महानगरपालिकामा मेयरतर्फ नागेश कोइरालाले अग्रतालाई कायम राखेका छन्। हालसम्म २६ हजार १ सय ८ मत गणना हुदाँ कोइरालाले एमालेका प्रतिस्पर्धा सागर थापाविरुद्ध २ हजार २ सय २३ मतान्तर बनाएका छन्।

थापाले हालसम्म ६ हजार २ सय ४७ मत हासिल गरेका छन्। त्यसैगरि, स्वतन्त्रतर्फ उमेश यादवले २ हजार ६ सय ९० मतसहित तेस्रो स्थानमा रहेका छन्।

उपमेयर तर्फ एमालेकी उम्मेदवार शिल्पा निराला कार्कीले ७ हजार १ सय ११ मत पाएकी छिन्। गठबन्धतर्फबाट जसपाका उम्मदेवार अमरेन्द्र यादवले कार्कीलाई ४ हजार ६ सय ४५ मतसहित पछ्याइ रहेका छन्।

त्यसैगरि, राप्रपाकी उम्मेदवार विन्दा लुइटेल आचार्यले १ हजार ९ सय ७१ मतसहित तेस्रो स्थानमा रहेकी छिन्।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्