नेपालमा ३७ लाखलाई आफू रक्तचापको बिरामी भएको थाहै छैन

काठमाडौँ – नेपालमा ४७ लाख उच्च रक्तचापका बिरामी रहेको अनुमानित तथ्याङ्कअनुसार १० लाखलाई आफ्नो उच्च रक्तचापको अवस्थाबारे थाहा छ। तीमध्ये चार लाख जनाले मात्र औषधिको सेवन गरिरहेका छन् भने दुई लाख जनामा उच्च रक्तचाप नियन्त्रणमा देखिएको तथ्याङ्कले देखाएको छ।

मंगलबार विश्व उच्च रक्तचाप दिवसको अवसरमा स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. फणिन्द्रप्रसाद बरालले उच्च रक्तचापका बिरामीलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि सरकारले सचेतनाका लागि धेरै लगानी गर्नुपर्ने बताए।

उनले भने, ‘उच्च रक्तचापलाई लिएर धेरैले विभिन्न अफवाहहरुमा विश्वास गरिरहेका छन्। हामी बाँच्नका लागि औषधिको प्रयोग गर्छौँ। यो कुरा सरकारले बिरामी र उनका परिवारलाई अझै पनि राम्रोसँग बुझाउन सकिरहेको छैन। उनीहरुमा सचेतना फैलाउनका लागि धेरै लगानी गर्नुपर्ने देखिएको छ।’

विश्वभर २५ प्रतिशत मानिसमा उच्च रक्तचाप भएता पनि उनीहरुमध्ये २५ प्रतिशत मात्र उपचारको दायरामा आउने गरेको विज्ञहरुले बताएका छन्। जसअनुसार नसर्ने रोगबाट हुने मृत्युको पहिलो कारण उच्च रक्तचाप रहेको मुटु रोग विशेषज्ञ डा.ओममूर्ति अनिलले बताए।

‘क्यान्सर र हृदयघात भयो भने मात्र हामी असामान्य मान्छौँ। तर उच्च रक्तचाप सामान्य रुपमा लिन्छौँ। अहिले विश्वभर उच्च रक्तचापले भयावह रुप लिइसकेको छ। नसर्ने रोगबाट मृत्युको प्रमुख कारण अहिले उच्च रक्तचाप बनेको छ।’

डा. अनिलका अनुसार सचेतना फैलाउन जरुरी छ, यसमा व्यक्ति स्वयंले जान्न जरुरी छ। नसर्ने रोगहरुको विषयमा पाठ्यक्रममै समावेश गर्न आवश्यक छ।

उच्च रक्तचापका कारण ६९ प्रतिशतलाई हृदयघात र ५१ प्रतिशतलाई मष्तिकघात भइरहेको उनले बातए। विज्ञहरुका अनुसार अहिले युवाहरुमा उच्च रक्तचापको समस्या धेरै देखिन थालेको छ।

यसको प्रमुख कारण तनाव, खानपान र वातावरण प्रदुषणलाई लिन्छन्, डा. अनिल।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले विश्व नै सर्ने रोगबाट नसर्ने रोगतिर जाँदै गरेको बताए। उनले विश्वभर ७० प्रतिशत मानिसमा नसर्ने रोगले ओगटेको समेत जानकारी दिए।

बदलिँदो जीवनशैली र तनावका कारण उच्च रक्तचापका बिरामीहरु दैनिक बढ्दै गइरहेकाले यस विषयमा मन्त्रलयले नयाँ संरचनासमेत बनाउन लागेको जानकारी दिए। रोग लागेर महँगो उपचार गराउनुभन्दा रोग लाग्नै नदिनुतर्फ सबै ध्यान दिन आवश्यक रहेको उनले बातए।

गाउँगाउँमा रक्तचाप नाप्ने र उपचारको दायरासम्म सबैलाई पुर्‍याउनु पर्ने भन्दै वर्षमा ४/५ पटक रक्तचाप जाँच गराउन आवश्यक रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले बताए।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. चुमन लाल दासले नुन धेरै खाँदा मात्र रक्तचाप नबढ्ने बताए। उनले भने, ‘नुन धेरै खाँदा मात्र रक्तचाप बढ्छ भन्छौँ तर गुलियो खाँदा पनि उत्तिकै उच्च रक्तचाप बढ्ने अनुसन्धानले देखाएका छन्। त्यसैले नुन र गुलियोको प्रयोग कम गरौँ। र नसर्ने रोग लाग्नबाट बचौँ।’

यस्तै, महाशाखाले प्राथमिक स्वास्थ्य सेवा तहअन्तर्गत सबै स्वास्थ्य संस्थाहरुबाट उच्च रक्तचाप नियन्त्रणका लागि आवश्यक पर्ने दुई प्रकारको औषधि निःशुल्क उपलब्ध गराइरहेको छ।

यो वर्षको अन्त्यसम्म महाशाखाले उच्च रक्तचापको नियमित औषधि सेवन गर्नेको संख्या १० लाख पुर्‍याउने लक्ष्य दिएको छ।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्