बलात्कार मुद्दामा सिद्धबाबालाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो

मोरङ – जबर्जस्ती करणी मुद्दामा सिद्धबाबा कृष्णदासजी महाराजलाई सफाइ दिने सुनसरी जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले उल्ट्याएको छ।

मंगलबार उच्च अदालतका निमित्त मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतले गरेको फैसलालाई उल्ट्याएको हो।

कृष्णबहादुर गिरी नाम गरेका सिद्धबाबा कृष्णदासजी महाराजलाई सुनसरी अदालतका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले २०७७ साल मंसिरमा सफाइ दिएको थियो।

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले सुनसरी जिल्ला अदालतको आदेश उच्च अदालत विराटनगरले उल्ट्याएको जानकारी दिए। सुवेदीका अनुसार उच्च अदालतले जिल्लामा पेश भएका प्रमणहरु पुनः बुझेर फैसला गर्न सुनसरी जिल्ला अदालतलाई आदेश जारी गरेको छ।

आदेशमा पीडित र पीडकपक्षको रेकर्ड रहेको आवाजको जाँचबुझ, महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र गर्न र दुवै पक्षको साक्षी बकपत्र गर्न भनिएको उनले बताए।

२०७६ साल कार्तिक ४ गते सिद्धबाबाकी एक महिला अनुयायीले जबर्जस्ती करणी गरेको आरोपसहित मंसिर ११ गते सुनसरी प्रहरीमा जाहेरी दिएकी थिइन्। जाहेरीलगत्तै सिद्धबाबा चतरास्थित निवासबाट विराटनगरस्थित विराटनगर नर्सिंग अस्पतालमा उपचारका क्रममा बसेका थिए।

करिब १ महिना बढीको समय सिद्धबाबाले अस्पतालबाटै सुनसरी अदालतमा उपस्थिति जनाएका थिए। सो क्रममा उनलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो।

सोही वर्ष उनलाई उच्च अदालत विराटनगरका तत्कालीन मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदेश दिएको थियो। यसक्रममा सिद्धबाबालाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीले सहमतिमा करणी गरेको भन्दै बलात्कार गरिएको ठहर नहुने फैसला गरेको थियो।

त्यसपछि पीडित पक्षले सुनसरी अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत २०७७ फागुन २८ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थियो। जिल्लाको फैसलाविरुद्ध सिद्धबाबा पनि २०७७ चैत २६ गते उच्च अदालतमा पुगेका थिए।

जेठ ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्