संसद् भवनअघि सिलिण्डर विस्फोट गराई आतंक मच्चाउने ४ जना पक्राउ

काठमाडौं- स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा संसद भवन अगाडि सडकमा सिलिण्डर ग्यास विस्फोट गराई आतङ्क मच्चाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा लखन गाउँपालिका-५ घर भई हाल काठमाडौं कपन बस्दै २९ वर्षीय हरि कृष्ण थापा, काभ्रे तेमाल गाउँपालिका-९ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्दै आएका २८ वर्षीय करण श्रेष्ठ, भोजपुर राम प्रसाद राई गाउँपालिका-६ घर भई हाल भक्तपुर चागुनारायण नगरपालिका-१ दुवाकोट बस्दै आएका २८ वर्षीय युवराज थापा र खोटाङ कोटेहाङ गाउँपालिका-८ घर भएका ३६ वर्षीय बि.के. सिं भन्ने भरत कुमार राई रहेको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता तथा एसपी दिनेश राज मैनालीले जानकारी दिए।

भरत कुमार राई भने यसअघि समेत विभिन्न मितिमा हातहतियार खरखजना, बैकिङ कसूर तथा कर्तव्य ज्यान मुद्धामा पक्राउमा परी कारवाही परिसकेको व्यक्ति रहेको एसपी मैनालीले बताए।

नयाँ बानेश्वरबाट तीनकुने जाने बाटोमा वैशाख ३१ गते बिहान २ बजे ग्यास सिलिण्डर विस्फोट भएको थियो।

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा संसद भवनलाई लक्षित गरी ग्यास सिलिण्डर भेटिएकोले उक्त विषयलाई विशेष ध्यानमा राखेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

विष्फोटनबाट बिके कम्पलेक्समा रहेको दृष्टि आँखा केन्द्र लेखिएको भवन तथा साइन ग्लोबल एजुकेशन कन्सल्टेन्सी  रहेको घरको सिसा फुट्न गई क्षति भएको थियो। यद्यपि मानवीय क्षति भने केही नभएको मैनालीले बताएका छन्।

पक्राउ परेकाहरूबाट प्रहरीले घटनास्थलबाट नेपाल कम्युनिष्ट पार्टी (सिवादी) लेखिएको पर्चा, पम्प्लेट, सिलिण्डर विष्फोटनपश्‍चात भएका टुक्राहरू, कालो रातो कपाससहितको डसनाको टुक्राहरू, विभिन्न कम्पनीमा माेबाइल ८ थान, ल्यापटप, राताे स्कुटर, प्रेस लेखिएकाे ज्याकेट लगायत विभिन्न सामानहरू बरामद गरेको छ।

पक्राउ परेका उनीहरूलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-७, विष्फोटक पदार्थ सम्बन्धी दफा १४१ को कसूरमा काठमाण्डौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त नयाँ बानेश्‍वरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जेठ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्