यो कछुवागतिमा कहिले सकिन्छ काठमाडौं महानगरको मतगणना?

काठमाडौँ- काठमाडौं महानगरमा मतगणनाको पाँचौ दिन बुधबार दिउँसोसम्म ४१ हजार हाराहारी मात्रै मत गनिएको छ।

गत शुक्रबार मतदान सकेर शनिबारदेखि मतगणना सुरु गर्दा हालसम्म महानगरका चार वडा वडाको मात्रै मत गनेर सकिएको छ ।

शनिबार तीन ठाउँबाट मत गन्न सुरु गरिएकोमा अहिले थपेर नौ ठाउँमा मत गणना भइरहेको छ तर नतिजा असाध्यै सुस्त गतिमा आइरहेको छ ।

हालसम्म महानगरका वडा नम्बर एक, दुई, तीन र पाँचको मत गनेर सकिएको छ । वडा नम्बर ४,६,७,२८,२९,३०,३१ र ३२ को मत गणना भइरहेको छ । मतगणना धिमा गतिमा भएपछि निर्वाचन आयोगमाथि प्रश्न तेर्सिएका छन् । काठमाडौं महानगरमा १ लाख ९० हजार हाराहारी मत खसेको छ । अहिलेको मत गणनाको गतिले कहिले सकिन्छ ? निर्वाचन आयोग के गर्दै छ ? भन्ने प्रश्नहरु स्वभाविक रुपमा अगाडि आएका छन्।

आयोगका सहायक प्रवक्ता तथा सूचना अधिकारी सूर्यप्रसाद अर्यालले काठमाडौं महानगरको मतगणना कहिले सकिन्छ भन्ने देश सञ्चारको प्रश्नको जवाफ ठ्याक्कै दिन सकेनन् ।

‘०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मतपरिणाम १७ दिन लगाएर सम्पन्न गरिएको थियो । यो चुनावमा त्यति धैरै दिन नलगाउँ भन्ने हो तर मतगणना ढिला भएको छ । कर्मचारी व्यवस्थापन र मत गन्ने ठाउँ व्यवस्थापनको जिम्मा आयोगले गर्दैछ,’ सहायक प्रवक्ता अर्यालले भने, ‘मत गन्ने ठाउँ साँघुरो छ गणक कम छन् । कम्तीमा १८ स्थानबाट मत गन्न पाएको भए छिटो नतिजा आउँथ्यो तर ठाउँको अभावले अहिले ९ ठाउँबाट मात्रै गणना भइरहेको छ । १८ ठाउँबाटै गन्न नसकेपनि अझै केही स्थानमा थप्ने तयारी छ ।’

काठमाडौं लगायत धेरै मतदाता भएका महानगरमा कर्मचारी थपेर धेरै ठाउँमा एकै पटक गणना गर्ने आयोगले प्रस्ताव गरेको छ । ०७४ मा पनि काठमाडौं महानगरपालिकाको मतगणना गर्न १७ दिन लागेपछि लामो र झन्झटिलो मतपत्रका कारण समय लागेको विषय त्यतिबेला पनि प्रश्न उठेको थियो ।

यसपटक महानगरको मतपत्रमा ६४ लहर छन् । मेयरमा मात्रै ५५ जनाको प्रतिस्पर्धा छ ।

आयोगका सहायक प्रवक्ता अर्यालका अनुसार एउटा मतपत्र गनिसक्न औसतमा १० देखि १५ मिनेट लाग्छ । प्रतिनिधिहरूबीच विवाद भए एउटै मतको छिनोफानो हुन घण्टौं पनि लाग्न सक्छ । यो हिसाबले हेर्दा कम्तीमा पनि एउटा टोलीले महानगरको सबै मत गन्न कम्तीमा एक महिना लाग्ने देखिन्छ ।

तर सहायक प्रवक्ता आर्याल भने त्यति ढिलो नलाग्ने बताउँछन् । मतगणना भइरहेको स्थान राष्ट्रिय सभागृह साघुँरो छ । मतगणनामा ढिलाइ हुँदा गणक, उम्मेदवार र प्रतिनिधिहरू भने थाकेर लखतरान भएका छन् । राष्ट्रिय सभागृहको बार्दलीमा तारजालीभित्र समूहमा गणक छन् भने बाहिर उम्मेदवार र तिनका प्रतिनिधि।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले मतगणना स्थल साघुँरो हुँदा धेरै ठाउँबाट मत गन्न नसकिएको बताए । देश सञ्चारसँग उनले भने, ‘राष्ट्रिय सभागृहभित्र मत गन्ने ठाउँ साघुँरो छ, गणकले सजिलोसँग मत गन्न पाएका छैनन् । तर थप ठाउँबाट मत गन्ने व्यवस्था गरिँदैछ ।’ मतगणना द्रुत गतिमा लैजान के व्यवस्था र कहिलेदेखि सुरु गर्ने गरी गर्न खोजिएको हो रिजालले त्यो खुलाएनन्।

एउटा मतगणनास्थलमा ७ जनाको टोली हुने स्थानीय तह निर्वाचन (मतगणना) निर्देशिकामा उल्लेख छ । मुख्य निर्वाचन अधिकृत र उनको पीएसओ मतगणनामा खटिँदैनन्, ५ जना मात्रै गणनामा बस्छन् । निर्वाचन अधिकृतले चाहेमा अन्य सरकारी कार्यालय र भवनमा पनि ठाउँ तोक्न सक्ने कानुनी व्यवस्था छ ।

गणनामा खटिने कर्मचारीले एक सिफ्टको २ हजार ५ सय रुपैयाँसम्म पाउने कानुनी व्यवस्था छ । निर्देशिकाअनुसार प्रमुख मतगणना अधिकारी निर्वाचन अधिकृतले २ हजार ५ सय, सहायक मतगणना अधिकारीले २ हजार, सहायक कर्मचारी/कम्प्युटर अपरेटरले १ हजार ६ सय, कार्यालय सहयोगीले १ हजार २ सय र निजी सुरक्षाकर्मी पीएसओले ६ सय रुपैयाँ पाउँछन् ।

आयोगका सहायक प्रवक्ता अर्यालले विहीबार राति १२ बजेसम्म देशभरका ७५३ वटा स्थानीय तहमध्ये ८० प्रतिशतको नतिजा आउने दाबी गरेका छन् । उनले देशसञ्चारसँग भने- भोलि बिहीबार जेठ ५ गतेसम्म सबै मतपरिणाम ल्याउने आयोगको उद्देश्य भएपनि त्यो पूरा हुन सकेन । कम्तीमा ८0 प्रतिशत स्थानको मतपरिणाम आउने उनले बताए ।

*(यसअघि मेयरको संख्या ५६ भएकामा सच्चाइएको छ।)

जेठ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्