बालेन, सपना र परिवर्तन!

र्‍याप ब्याटलमा ‘हिस्ट्री (इतिहास) भनेको फेरिने चिज हो भाइ, बालेन अहिलेसम्म आएको थिएन !’ भन्दै डाइलग दिने केटो आज काठमाडौँको भाग्य परिवर्तन गरी इतिहास बदल्न मेयर पदका लागि लडिराखेको हेर्दा चट्ट ठूलो पर्दामा लागेको कुनै साउथ इन्डियन फिल्मको दृश्यजस्तो प्रतीत हुन्छ।

‘ब्यालेन्स साहको भोट हेर्ने आको!’

‘ ए बाबु! बालु साहले कति भोट ल्यायो?’

नाम पनि मज्जाले भन्न नजान्ने ती बुढाबुढीले समेत आश राखेको मान्छे- बालेन, आखिर को हो?

केही समय अगाडिदेखि सामाजिक सञ्जाल र अहिले ती सञ्जालसँगसँगै  काठमाडौँका सडकहरू ‘बालेनमय’ भएका छन्। राजनीति भनेपछि नाक खुम्च्याई भाग्ने नेपाली युवाहरू आज किन एकाएक नेपाली राजन‍ीतिप्रति लालायित र कुनै एउटा पात्रको जीतको आशले यति उत्साहित भएका होलान‍्! चुनावका नाममा बाजी लागेका खसीच्याङ्ग्रादेखि लिएर उम्मेदवार नै नभएका ठाउँमा समेत ‘लौरो’ चिन्हलाई परेका भोटहरू हेर्दा के लाग्छ भने बालेन केवल एउटा मेयरको उम्मेदवारमात्र नभई परिवर्तनका लहर हुन्। पेसाले इन्जिनियर अनि कलाकारिताले र्‍यापर तर आज नेपाली युवाका आइडल!

मैले यो लेख लेख्दै गर्दा मतगणना जारी नै छ। आगामी दिनमा के होला त्यो समयले बताउनेछ तर अहिलेका लागि बालेन नयाँ तरङ्ग हो, नेपालको पतन हुँदै गएको राजनीतिको बीचको नयाँ उमङ्ग हो। कुर्सी जोगाउने माहोलमा गठबन्धन अनि काम गर्ने बेलामा ठगबन्धनमा चलेको नेपाली राजनीति अनि मर्दै गरेको नेपाली जनताको उत्साह र चाहनाको बीचमा बालेन एउटा मिठो सपना हो। ठूल्ठूला रेलगाडी, भत्ता अनि अनेकौँ पुरा हुन नसक्ने आश्वाशनहरुको बीचमा साना तर पूरा हुनसक्ने योजना अनि प्रतिबद्धता लिई आएको बालेन यो शहरको विवशता र उदासीनताको बीच नमिठो निद्रा निदाइरहेका जनताहरुको लागि सुनौलो बिहानी हो बालेन।

सभागृह अगाडि हरेक दिन बालेनका नामका नारा लगाउनेहरु, घरदैलोका बेला बालेनसँग हातेमालो गर्दै हिँड्नेहरुले बालेनको मासुभात खाएका छैनन्। ती मान्छे चर्को घाम होस् या झमझम पानी; बिना कुनै पेट्रोलखर्च, चियाखर्च वा खानाको कुपन बिना नै आएका हुन्। न ती कार्यकर्ता हुन् न कसैका झोले, हुन त फगत परिवर्तनको आशमा हिँडेका आम मानिस। जनताका नाममा कार्यकर्ता बटुली उडन्ते भाषण गरी बस्ने नेता अनि दलहरुले आज बालेनका समर्थकहरुको घुइँचोलाई हेरेर सिक्नुपर्छ वास्तविक नेतृत्व कस्तो देखिन्छ भनेर।

जित्न सहज थिएन!
आजित जनता अनि तिनको अविश्वास!

‘राजनीति नजान्नेले के चुनाव लड्ने?’
‘पार्टीबिना कसले भोट दिन्छ?’
‘काठमाडौंमा त नेवार बाहेक कसैले जित्दैन!’
‘ मधेसी मूलको मान्छेले के भनेर यहाँ भोट लिन्छ?’
‘पार्टीहरुले यस्त स्वतन्त्रलाई टिक्नै दिन्नन्!’

अनेक टिकाटिप्पणी अनि त्यो बाहेक अझै अन्य उम्मेदवारहरुको कटाक्षबीच समेत कहिल्यै नडग्मगाई कुनै पार्टीको झन्डा नउचाली हरदम देशको झन्डालाई काँधमा हाली हिँडेका बालेनको सामाजिक प्रतिबिम्ब आज हिमालझैँ अग्लो र अटल देखिन्छ। सबै कटाक्षका प्रत्युत्तर सधैँ शालिनता, नम्रता अनि सकारात्मकताका साथ दिँदै जनताका मनमा रहेका अन्योलतालाई आफ्नो दृष्तिकोण र प्रतिबद्धताले चिर्दै बालेनले यहाँसम्म तय गरेको यात्रा सजिलो भने पक्कै  थिएन। जितेका खण्डमा यी चुनौती झनै थपिँदै जाने निश्चित छ।

बालेनको जित केवल उनको मात्र जित नभई राष्ट्रमा परिवर्तन चाहने सम्पूर्णको जित हो!  राज्यलाई मनपरी रुपमा आफ्नो पेवाजसरी चलाउनेहरुको बिरुद्धको जित हो। अन्योलताको आगोमा दन्केको राज्यमा जनताका आँसु र हौसलाको जित हो। राज्यलाई आफ्नै बाबुको अंश ठान्नेहरुको बिरुद्ध ‘राष्ट्रलाई समर्पित’ हरुको जित हो।

‘हार जित आफ्नो ठाउँमा छ…….. ‘ भन्दै गर्दा मलाई यी शब्द लेख्न फिटिक्कै मन छैन किनकि मेरो अन्तरस्करणको कुना-कुनाबाट म चाहन्छु कि बालेनले जितून्। किनकि बालेनको जित केवल उनको मात्र जित नभई राष्ट्रमा परिवर्तन चाहने सम्पूर्णको जित हो!  राज्यलाई मनपरी रुपमा आफ्नो पेवाजसरी चलाउनेहरुको बिरुद्धको जित हो। अन्योलताको आगोमा दन्केको राज्यमा जनताका आँसु र हौसलाको जित हो। राज्यलाई आफ्नै बाबुको अंश ठान्नेहरुको बिरुद्ध ‘राष्ट्रलाई समर्पित’ हरुको जित हो।

धेरैलाई लाग्न सक्छ- देशभरि स्वतन्त्र र योग्य उम्मेदवार अरुतिर पनि छन् तर काठमाडौंमा नै स्वतन्त्र उम्मेदवारको जितले किन यति महत्व राख्छ? वास्तवमा भन्नु पर्दा काठमाडौं महानगरपालिकाको को चुनाव त्रिपक्षीय  भिडन्त मात्र नभई दलहरुको संस्थागत दबदबाको बिरुद्ध एक्लो मान्छेको वर्चस्वको लडाइँ हो। त्यसैले बालेनले जित्नै पर्छ।  सधै जनतालाई झुलाउने अनि क्षणिक लाभ दिएर त्यत्तिकै भुलाउने पार्टी अनि तिनका नाइकेलाई  ‘डन्ट अन्डरइस्टिमेट द पावर अफ अ कम्मन म्यान (Don’t underestimate the power of a common man)’ भनेर बुझाउन्, ब्युझाँउन अनि ब्युताँउन पनि बालेनले जित्नै पर्छ।

आजसम्म यो नगरीमा अन्यले पार्टीका लागि पार्टीका आडमा चुनाव जित्दै थिए भने अब बालेनले महानगरका लागि महानगरबासीका आडमा जित्नेछन्।

‘बालेन एक नाम मात्र हैन!’

पुराना सामन्तीहरुको राजनीतिक पद्दतिका लागि सबक हो!

परिवर्तन हेर्न चाहनेका लागी आशाको झिल्को हो!

अनि जातको नाममा राजनीति गर्नेहरुको लागि नमज्जाको थप्पड पनि।

बालेनको सुरुवात, उनको राजनीतिक सघंर्ष अनि उनको नजिकिँदै गरेको जित हेर्दा यम बुद्धको गीतको एक पंक्ति मेरो मनले गुनगुनाइरहेछ-

‘जित्नु भन्दा ठूलो कुरो हिम्मत नहार्नु हो!’

(ओली नेपाली सेना स्वास्थ्य विज्ञान संस्थामा एमबीबीएस पाँचौ वर्षमा अध्ययनरत छिन्।) 

जेठ ४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्