कैलालीकाे टीकापुर नगरपालिकामा रेशमकाे पार्टी विजयी

धनगढी- कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डगौरा थारु विजयी भएका छन्।

उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावललाई पराजित गरेका हुन्। मतपरिणाम भने केहीबेरमा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतले जानकारी दिए।

थारु ०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ७ को वडाध्यक्ष थिए।

यस वर्षको चुनावअघि नवगठित नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर थारुले टीकापुरको मेयर जितेका हुन्।

टीकापुर नगरपालिकाको उपप्रमुखमा भने गठवन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका उम्मेदवार खडकबहादुर शाह विजयी भए। माओवादी केन्द्रले ०७४ मा जितेका वडा नम्बर ७, ८ र ९ लाई कायम राख्दै यस पटक उपप्रमुखमा पनि विजय हासिल गरेको छ।

०७४ मा उपप्रमुख मात्रै जितेको कांग्रेसले वडा नम्बर २, ३ र ६ मा वडाध्यक्षसहित ११ पद जितेको छ।

०७४ सालमा नगरप्रमुखसहित वडा नम्बर १ र २ मा विजय भएको एमाले भने यस वर्ष एउटा वडामा मात्र सीमित भएको छ। एमालेबाट वडा नम्बर १ को वडाध्यक्षमा मोहन विक निर्वाचित भएका छन्।

नौवटा वडा रहेको टीकापुरमा प्रमुख जितेको नागरिक उन्मुक्तिले वडा नम्बर ४ र ५ मा वडाध्यक्षसहित सबै सदस्य, वडा नम्बर १ र ७ मा वडाध्यक्ष वाहेकका सबै सदस्य पदमा विजय हासिल गरेको छ।

२०७२ सालमा टीकापुरमा भएको घटनाका दोषी भनेर हाल जेल जीवन बिताई रहेका तत्कालीन राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीको रिहाइको मागलाई मुख्य एजेण्डा बनाई सांसद चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी दर्ता भएकाे थियाे।

जेठ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्