ब्युटी प्याजेन्टका क्रममा आफूमाथि बलात्कार भएको दाबी, पोस्ट भएको भिडियोमा के छ?

सांकेतिक तस्बिर

काठमाडौँ- ब्युटी प्याजेन्टका क्रममा होटलमा आफूमाथि बलात्कार भएको दाबीसहित सामाजिक सञ्जालमा एक युवतीले पोस्ट भएको एउटा भिडियोले यतिबेला चर्चा पाइरहेको छ।

उक्त भिडियोमा ती युवतीले आफुमाथि यौनदुर्व्यवहार भएको दाबी गरेकी छन्। भिडियोमा उनले एउटा ब्युटी प्याजेन्ट सकिएसँगै एउटा होटलमा सक्सेस पार्टीमा बोलाइएको र सो क्रममा आफूहरुलाई बलात्कार गरेको बताएकी छन्।

त्यसबेला आफू १६ वर्षको मात्र रहेको र ब्युटी पेजेन्ट आयोजना गर्ने व्यक्तिले आफूलाई ‘सक्सेस पार्टी’ मा बोलाएर पेय पदार्थ खुवाई बेहोस बनाएर बलात्कार गरेको उनले उक्त भिडियोमा दाबी गरेकी छन्।

यस क्रममा आफूहरुलाई बलात्कार गर्ने उक्त ब्यक्तिले आफ्नो नग्न तस्बिर र भिडियो खिचेको र घटनाबारे अरुलाई बताए तस्बिर र भिडियो सार्बजनिक गरिदिने धम्की दिएपछि आफूहरुले कसैलाई नभनेको बताएकी छन्। सो व्यक्तिले धम्की दिँदै ६ महिनासम्म पटक–पटक बलात्कार गरेको उनको दाबी छ।

भिडियोमा उनले घट्नाबारे बताइरहँदा कसैको पनि पूरा नाम भने उल्लेख गरेकी छैनन्।

त्यसबेला सहयोगको आशासहित घटनाबारे धेरै जनालाई भने पनि खासै सहयोग नपाएकाले आफ्नै गल्ती रहेछ भनेर चुप लागेको उनको भनाइ छ।

यही घटनाका कारण दुई पटक आत्महत्याको प्रयास गरेको उनले भिडियोमा बताएकी छन्। त्यसको असरले अहिले पनि थेरापी गरिरहनुपरेको उनको भनाइ छ।

उनले ती ब्यक्तिको परिचय भने खुलाएकी छैनन्। उनी कन्सल्टेन्सी सञ्चालक रहेको र उनलाई एक जना फोटो पत्रकारले पनि साथ दिएको उनको दाबी छ।

उनको यो भिडियो सार्वजनिक भएपछि धेरैले यसबारे मुख खोलेका छन् र घटनाबारे छानबिन गरी कारबाही गर्नुपर्ने आवाज उठाइरहेका छन् ।

यतिका वर्षसम्म पनि यो पीडा कम नभएपछि अहिले बोल्न बाध्य भएको उनले बताएकी छन्। ‘मैले यो कुरा धेरै वर्ष मनमा राखें, तर म सन्चो भइनँ,’ उनले भनेकी छन्, “मैले थेरापी गरें, कति पैसा खर्च गरेर औषधि खाएँ, सन्चो भइनँ।’

आफूले लामो समय यो अपराध सहेको बताउँदै अरूले यस्तो भोग्न नपरोस् भनेर सार्वजनिक गरेको उनको भनाइ छ। उनले भिडियोमा उनले भनेकी छन्, ‘अहिले म टिकटकमा केटाकेटीहरू सुटिङमा गएको देख्छु। मलाई उनीहरूको चिन्ता लाग्छ। यदि तिमी भोलि मोडल हुन चाहन्छौँ भने आफ्नी ममीलाई नलिई नजाऊ। मैले गरेको जस्तो गल्ती नगर।’

जेठ ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्