फोटो फिचर

यौनजन्य हिंसासम्बन्धि कानुनमा हदम्यादको व्यवस्था हटाउन माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौँ – बालुवाटारको पिपलबोटमा शुक्रबार बिहान ९ बजे बलात्कार तथा अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउनको लागि आन्दोलन भएको छ।

बुधबार एक युवतिले ८ वर्ष अगाडि एक मोडलिङ कन्सलट्यान्सीका मालिकले उनलाई पटकपटक बलात्कार गरेको र ब्ल्याकमेलसमेत गरेको भन्दै भिडियो सार्वजनिक गरेकी थिइन्।

यस मुद्दामा पूर्वमिस नेपाल माल्भिका सुब्बा र फोटो पत्रकार श्रीधर पौडेलको नाम पनि जोडिएर आएको छ।

त्यसपछि सामाजिक सञ्जालमा बलात्कार तथा यौनजन्य हिंसाको विषयमा बहस छेडिएको छ। पीडित युवतीले आफू धेरै वर्षदेखि यही घटनाले मानसिक समस्यामा परको र आत्महत्याको प्रयास समेत गरेको बताएकी छन्।

उनको घटना सार्वजनिक भएपछि कानुनी रूपमा उपचारको बाटोमा जाने कुरामा पनि छलफल भयो। केही अपवादका मुद्दा बाहेक बलात्कारका घटनामा एक वर्षको हदम्याद रहेको कानुनी विषयमा पुन: छलफल भयो।

त्यसपछि यससम्बन्धि कानुन परिमार्जनको माग समेत प्रदर्शनीमा गरिएको छ। यही विषयमा सरकारको ध्यानाकर्षणको लागि सामाजिक सञ्जालबाट संगठित भई धेरै युवायुवती आज बालुवाटरमा उपस्थित भई सरकारको ध्यानाकर्षणका लागि प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूका निर्णय गर्न अदालतमा ‘फास्ट ट्र्याक ’ स्थापना हुनुपर्ने, सरकारले पीडितको सुरक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। कार्यक्रममा प्रकृति भट्टराई, विवेकशील साझा पार्टीकी काठमाडौँ उम्मेदवार समीक्षा बास्कोटा, कवि विमला तुम्खेवा लगायत लगभग २०० जना महिला उपस्थित थिए।