दक्षिण कोरियामा कोरोना संक्रमण घट्दै

एजेन्सी – दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ।

त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा त्यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ।

यसअघि दैनिक लाखौँ जना कोरोनाका संक्रमित देखिएकामा पछिल्ला केही हप्तायता भने घट्दै गएको पाइएको हो।

बिहीबार २५ हजार १३५ जनामा संक्रमण देखिएको पाइएको छ। त्यहाँ अघिल्लो दिनका तुलनामा संक्रमितहरु घटेका हुन्।

बुधबार मात्र २८ हजार भन्दा बढी संक्रमित भेटिएका थिए।

त्यस्तै, यस हप्ताको सुरुमा ३२ हजार जना भन्दा बढी संक्रमित भेटिएका थिए। दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा त्यहाँ संक्रमितको संख्या थोरै भएपनि घट्दै गएको पाइएको बताएका छन्।

यसैसँगै कूल संक्रमितको संख्या १ करोड ७९ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

त्यहाँ अस्पताल भर्ना हुनेको संख्या भने न्यून छ। त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु दर पनि कम रहेको छ।

जेठ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्