
भो छोडिदेउ ती कुरा
थाहा छ के कुरा ?
तिम्रो जित, अरुको हारको कुरा
तिम्रो मनको अहंकारको कुरा
तिम्रो सुख शान, आलिशानको कुरा
तिम्रो गाडी, श्रीमतीको साडीको कुरा
तिम्रो खानपान, मान सम्मानको कुरा
तिम्रो गर गहना अनि चाहनाको कुरा
बरु आउ, तिमी र म गरौँ अर्को कुरा
महँगो पलंगको होइन, सपनाको कुरा
देखावटी हाँसोको होइन, भावनाको कुरा
महँगो रोमान्सको होइन, साँचो प्रेमको कुरा
व्यंजनको होइन, एक प्लेट भोकको कुरा
तिम्रो रवाफ बाहेक अरु सब थोकको कुरा
हेर न कस्तो बिडम्बना
तिमी पनि मरेपछि लास हुन्छौ रे
तिम्रो लास चाहिँ खास हुनु पर्ने
त्यस भित्र पनि सास हुनु पर्ने
चितामा एक थान कपास हुनु पर्ने
इश्वरको सधैं बास हुनु पर्ने
हेर न कस्तो बाध्यता
प्रकृतिले त भेदभाव गर्नै जानेको रहेनछ
तिमीले र अरुले फेर्ने सास कतै फरक छ की ?
- सुवास शून्य