बुद्ध जन्मथलोका यी व्यथाहरु

महात्मा बुद्धको जन्मथलो लुम्बिनी पटकपटक चर्चामा आउने गरेको छ। यसपल्ट कुनै पनि भारतीय प्रधानमन्त्रीको पहिलो लुम्बिनी भ्रमण भएकाले चर्चाको केन्द्रमा छ। नरेन्द्र मोदी बुद्ध पूर्णिमा अर्थात महात्मा बुद्धको जन्म जयन्तीको अवसर पारेर उत्तर प्रदेशको कुशीनगरस्थित बुद्ध महापरिनिर्माण थलोबाट भारतीय वायु सेनाको हेलिकोप्टरबाट उनकै लागि विशेष रुपमा निर्मित हेलिप्याडमा लुम्बिनी अर्थात बुद्ध जन्मथलोमा उत्रिए।

आठ वर्षअघि नेपालको दोस्रो संविधान सभालाई सम्बोधन गर्दै महात्मा बुद्धको जन्मथलो नेपाल नै भएको अभिव्यक्ति दिएर मोदीले यदाकदा भारतका केही समूहबाट सिर्जित भ्रम तथा दुष्प्रचारले विश्व जनसमूदायमा पर्न सक्ने प्रभावलाई सकारात्मक रुपमा सम्बोधन गर्ने कोशिश गरेका थिए। त्यो पवित्र थलोमा उनको यो आगमन त्यस अर्थमा स्वागतयोग्य घटना थियो। यद्यपि त्यो भ्रमण विशुद्धरुपमा धार्मिक या साँस्कृतिक मात्र थियो र ‘पशुपतिको यात्रा सिद्राको व्यापार’ जस्तै आएको बेला केही कूटनीतिक, केही राजनीतिक या केही व्यापारिक तथा दुई देशबीच अन्य केही कारोबार गरिहालौँ भन्ने उद्देश्य त्यसमा थियो? त्यो विवाद जारी नै रहने छ। सम्पूर्ण गृहकार्यसहित मोदी आफ्नो दलबलका साथ त्यहाँ पुगेका थिए र ६ घण्टाको कुल बसाइमा आधा समय तीर्थाटन’सँग सरोकार राख्ने कार्यमा बितेको थियो। तर त्यसले दुई पक्षीय अन्य एजेन्डालाई औपचारिकता प्राप्त हुनबाट रोकेन।

मोदी विमानबाट उत्रेर सिधै ऐतिहासिक ‘मायादेवी मन्दिर’ पुगे, बाहिर स्वागतमा उभिएका प्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणासँगै। थेरवाद, बज्रयान र महायान परम्पराका मुख्य गुरुहरुको उपस्थितिमा मोदीले आँखा चिम्लेर प्रार्थना गरे, आस्था र आस्तिक भाव झल्कने गरी। यता उक्त पवित्र थलोबारे बुद्ध धर्मका गुरुहरु देखिने गरी चिन्तित र सक्रिय सोचमा छन्। मायादेवी मन्दिरको वास्तविक हैसियत परिभाषा या हैसियत स्पष्ट गर्नुपर्ने आवश्यकता औल्याउँदै!

‘यो मन्दिर हो कि म्यूजियम!’ हिन्दु र बौद्ध धर्ममा ‘खण्डित’ मूर्तिको पूजा हुँदैन। मूर्ति क्षतिग्रस्त र खण्डित भएमा क्षमापूजासहित त्यसलाई विस्थापित गर्नुपर्छ। ‘मायादेवी मन्दिर’ मा प्रार्थना स्थल बुद्ध जन्मस्थल र उनको प्रथम पाइलाको ‘डोब’ समेटिएको शीलाभन्दा करिव तीन फिटको उचाइमा छ, र तीर्थयात्रीहरु त्यहीँबाट श्रद्धामा हात जोड्ने र शीर निहुराउने गर्छन्। प्रार्थनास्थल माथि आमा मायादेवी र भगवान बुद्धका अनुहार तासिएका र आस्थाको आँखाबाटमात्र चिनिने दुई मूर्तिहरु छन्।

आस्थावानहरुको अर्को चिन्ता पनि छ। ‘मायादेवी मन्दिर’ वास्तवमा ‘मन्दिर’ हो कि म्यूजियम? वास्तवमा खण्डित या क्षतिग्रस्त मूर्ति म्यूजियममा राखिन्छ। आस्थाका साथ पूजिने मूर्ति सजिव, सुन्दर, जागृत र समग्र हुनुपर्छ। नेपालमा सम्भवत ‘मायादेवी मन्दिर’ मात्र यस्तो ‘मन्दिर’ हो जहाँ तिर्थालुहरु ‘टिकट’ किनेर जान्छन्। ‘म्यूजियम’ मा प्रवेश गर्दा टिकट काट्नुपर्छ, मन्दिरमा पर्दैन। र, मन्दिरमा पूजारी राखिन्छ, जुन मायादेवीमा छैन। बरु, त्यहाँ ‘केयर टेकर’ का रुपमा प्रहरी तैनाथ रहन्छन्। मोदीले स्वागतयोग्य रुपमा नेपालको लुम्बिनी नै बुद्धजन्म स्थल भएको अभिव्यक्ति दिएको केही वर्षमा त्यहाँ तीर्थाटनमा पुग्नु तर यति महत्वपूर्ण अहिलेसम्म तथ्यहरुलाई नेपाल सरकारले सम्बोधन नगर्नु सरकारको सम्वेदनहीनताको पराकाष्ठा हो।

भूकम्पबाट इस्टदेव गुरु गोरखनाथको क्षतिग्रस्त मूर्ति त्यही मान्यतासाथ नयाँ मूर्तिबाट विस्थापित गरिएको हो हालै काष्ठमण्डप निर्माण पूरा हुँदा। बुद्धको जन्मस्थलको अधिकारिकता र यथार्थ पूर्णरुपमा प्रश्न र शंकाबाट मुक्त छ र त्यहाँ पूरातात्विक प्रमाणहरु समेतले त्यसलाई पुष्टि गरेको छ। उक्त थलोको निर्माण जिर्णोद्वारसँगै त्यसको उचित नामाकरण आवश्यक भएको छ। सरोकारवाला पक्षहरु नै त्यसका अन्तिम निर्णयकर्ता हुन्। त्यसमा कुनै किसिमले नेपाली राजनीतिक जस्तै बाहिरी हस्तक्षेप स्विकारिनु हुन्न।

मोदीले अहिलेसम्म पाँच पल्ट नेपाल भ्रमण गरेका छन्, प्रधानमन्त्रीका रुपमा। यी औपचारिक भ्रमणहरुका क्रममा उनले पशुपतिनाथ, जनकपुरधाम र मुक्तिनाथको दर्शन गरिसकेका छन् यसअघि। यसपल्ट लुम्बिनीमा ‘मायादेवी मन्दिर’ मा प्रार्थना पछि उनले लुम्बिनी गुरुयोजना अन्तर्गतको मुख्य क्षेत्रमै ‘भारतीय साँस्कृतिक केन्द्र’ तथा पहिलो भारतीय गुम्बाको शिलान्यास गरे। त्यसपछि लुम्बिनी परियोजना सभागृहमा उनले त्यहाँ सम्बोधन गरे, देउवाको छोटो स्वागत भाषण लगत्तै। मोदीले नेपालमा तीर्थस्थलमा आउँदा केवल एउटा ‘तिर्थालु’ जस्तै अरु कुनै विषयमा आफ्नो ध्यान नजाने बताउँदै शायद गत महिना जाँदा काशी विश्वनाथ पुगेका देउवालाई पनि त्यस्तै अनुभति भयो होला भन्ने अभिव्यक्ति दिए।

त्यो कार्यक्रमलगत्तै मोदी र देउवा अनि नेपाल तथा भारतीय अधिकारीबीचको एकघण्टा भन्दा कम समयको वार्तामा यति धेरै निर्णयहरुले औपचारिकता पाए जुन पहिले शायदै हुने गर्थे। ६९५–मेगावाट अरुण चौथो परियोजना अरुण तेस्रोमा संलग्न एक भारतीय सरकारी संस्थालाई दिने निर्णय गरियो। त्यस्ते विगत पाँच दशकदेखि प्रयास हुँदै आएको तर ठेकदार कम्पनीहरु पहिले अस्ट्रेलिया र पछि चीनका ठेकेदार कम्पनीहरुले हात झिकेको पश्चिमी सेती जल–विद्युत परियोजना अगाडि बढाउन पनि मोदीलाई निम्त्याए। यसबारे अवश्य पनि गोप्य र अनौपचारिक छलफल पर्याप्त रुपमा भइसकेको सहजै बुझ्न सकिन्छ। आफ्नो निर्वाचन क्षेत्र तथा गृह जिल्लामा पर्ने उक्त्त परियोजना चीनले विकसित गर्दा भारतले बिजुली नकिन्ने हुँदा पश्चिमी सेती भारतलाई दिने घोषणा देउवाले चुनावी सभामा बोलेका थिए। लुम्बिनीमा पवन प्यालेस होटलमा यसलाई अघि बढाउन मोदीलाई आग्रह गरेको चार दिनपूर्व नै भारतको एनचपीसी (नेशनल हाइड्रो पावर कर्पोरेशन) ले उक्त परियोजनामा आफू इच्छुक रहेको लिखित जनाउ दिइसकेको छ। अर्थात त्यो परियोजनाले नयाँ ढाँचा विस्तारित प्रस्तावसँगै आगामी संसदीय निर्वाचन घोषणा पूर्व फास्ट ट्रयाक शैलीमा औपचारिकता पाउने छ। आखिर विकासलाई राजनीतिबाट अलग राख्न सकिन्न र त्यसमा पनि मुलुकमा दलहरुको साझा अवधारणा र सहभागिता विकास नीतिमा नहुँदा सत्तामा रहेका दलहरुले चुनावी बर्षमा त्यस्ता परियोजनाबाट दलीय फाइदा लिने कोशिश गर्छन्। आफू अमूक विदेशी समूहसँग नजिक रहेको स्वत: संकेत दिनेगर्छन उनीहरु। झण्डै ६ वर्षअघि मन्त्री पदबाट ’विदा’ भई सकेका जनार्दन शर्माले ‘बुढी गण्डकी’ परियोजना चीनलाई दिने निर्णय गरे। त्यसपछिका मन्त्रीले त्यसलाई रद्द गरेका र गत निर्वाचनमा आफूले जितेमा उक्त परियोजना चीनलाई दिने घोषणा एमाले नेता केपी शर्मा ओलीले गरेका थिए। यस्र्त हुकुमीको प्रतिस्पर्धाको फाइदा यसपल्ट देउवाले मोदीलाई दिए।

मोदी नजर विद्युत व्यापार फाइदासँगै भारतीय राजनिति अनि लुम्बिनीसहित नेपालमा चीनको बढ्दो उपस्थिति र उसको भारतसँगको प्रतिस्पर्धाप्रति केन्द्रित थिए पक्कै पनि। वास्तवमा नेपालको जलविद्युतमा भारतले खोज्दै आएको ’अग्राधिकार’ व्यवहारमा स्थापित गर्न मोदी सफल भए यसपल्ट। विविध समझदारी पत्रमा हस्ताक्षर र त्यसको आदानप्रदानमा स्वभाविक लाग्ने तर भारतीय राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने विषय समेटिएको छ। भारतीय साँस्कृतिक सम्बन्ध परिषद (आई सी सी आर) ले त्रिभुवन विश्व विद्यालयको एशियाली अध्ययन संस्थान काठमाडौं विश्व विद्यालय तथा लुम्बिनी विश्व विद्यालयमा भारतीय ‘चेयर’ स्थापना गर्ने निर्णय भएका छन्।

करिब १० बर्ष अघि स्थापित लुम्बिनी विश्व विद्यालयमा बुद्ध धर्म अध्ययनका लागि ‘डा भीम राव अम्बेस्कर चेयर’ को स्थापना झट्ट हेर्दा स्वभाविक लागेपनि यो विषयलाई वस्तुनिष्ठता र पृष्ठभुमिका साथ विश्लेषण गर्नु आवश्यक छ।

राजसंस्थाको उन्मूलनपछि मुलुकमा उत्पन्न राजनीतिक र संवैधानिक रिक्ततासँगै १२ – बुँदे पक्षधर शक्तिहरुमा देखिएको परचालित, परिचालित अनि दलाल चरित्र तथा तिनीहरुका बाह्य अभिभावकीय शक्ति भारत, अमेरिका र यूरोपेली संघका प्रतिस्पर्धीका रुपमा कुटनीतिक, व्यापारिक, राजनीतिक उपस्थिती बढाएको चिन बिचको द्वन्द्वको अनुभूति नेपालमा शासकहरुले मात्र हैन, आम जनताले पनि गरिरहेका छन्। नेपालमा ठूलो आकारमा प्रवेशसँग चिनले लुम्बिनीमा पनि चासो देखायो। विश्व शान्तिका साथ तीन अर्ब डलर खर्चगरी लुम्बिनीमा शहर निर्माण र त्यहाँ रेल पुर्‍याउने उसको चाहनाकै सेरोफेरोमा भारतीय प्रधानमन्त्री पहिलोपटक त्यो सीमावर्ती क्षेत्रमा पुगेका हुन्।

भारतीय जनता पार्टीको पहिलो अवतार या भारतीय जनसंघलाई भारत विभाजन पछिका शरणार्थीसँगै त्यहाँका ब्राम्हण र बनियाँको दलका रुपमा त्यसलाई हेरिन्थ्यो। हिन्दी, हिन्दु, हिन्दुस्थानको नारामा सीमित राखेर जनसंघ दललाई विश्लेषण गरिन्थ्यो। भारतको आन्तरीक राजनितिमा उथलपुथललाई रोक्ने नाममा इन्दिरा गान्धीले सन् १९७५ मा संकटकाल लगाएपछि उनका विरुद्ध केही बामदल सम्भावित अधिकांश गैर–कांग्रेसी दलहरु एकत्र भए र जनसंघ पनि त्यो मोर्चामा प्रवेश भयो। अन्तत: ऊ जनता पार्टीमा विलय भयो।

तर त्यसको तीन वर्ष नपुग्दै सन् १९८० मा भारतीय जनता पार्टीका रुपमा ऊ ब्युँतियो। सन् १९८९ यता भारतीय राजनीतिले नयाँ दिशा लियो । भारतीय जनता पार्टीले अयोध्यामा राम मन्दिर निर्माण र हिन्दुत्वको एजेण्डा बोक्यो भने समाजवादी पृष्ठभुमिका दलहरुले पिछडा वर्गका लागि रिजर्भेशन नीति कार्यान्वयनका लागि दलित पिछडा मुसलमान समीकरणमा निर्णायक रुपमा अघि बढाउन थाले। हनुमान हिन्दुत्व र वी आर अम्बेडकर नयाँ रुपमा ध्रुवीकृत राजनीतिका ‘आइकन’ बन्न पुगे। मुख्य प्रतिपक्षमा उदाएको भाजपा ‘रामलाई रोटी’ अर्थात रोजगारीसँग जोड्ने र सामाजिक तथा राजनितिक दायरालाई व्यापक बनाउँदै ‘प्रलोभन र दबाव’ मा पुस्तौँअघि इस्लाम र इसाई धर्म परिवर्तन अंगाल्न पुगेकालाई हिन्दु परिवारमा फिर्ता ल्याउने आभियान पनि जारी राख्यो। यद्यपि यी कार्य मुख्यतया राष्ट्रिय स्वयं सेवक संघका अन्य इकाईहरुका मातहत थिए।

भारतको संविधान निर्माणमा डा. भीमराव अम्बेडरकरको अग्रणी भूमिका रह्यो। तर योग्यता र पात्रताको श्रेष्ठता भन्दा उनको जातीय पृष्ठभूमिले उनको उचाइमा ग्रहण लाग्यो। उनी वर्ण व्यवस्थामा आधारित हिन्दु धर्मलाई यसको मुख्य कारण मान्थे।

आफ्नो मृत्यु (डिसेम्बर ६, १९५६) भन्दा ६६ दिन पहिले अर्थात अक्टोबर १४, १९५६ दिन उनले नागपुरमा करीब ५० हजार भन्दा बढीको भीडका साथ हिन्दु धर्म त्यागी बुद्धधर्म अंगाल्न पुगे। सम्मान र समानताका लागी बुद्ध धर्म उपयुक्त रहेको मान्यताका साथ त्यो ‘विद्रोह’ को नेतृत्व उनले गरेका थिए। भारतमा झण्डै १५ प्रतिशत दलित र त्यसको आधा आदिवासी जनसंख्या छ। हिन्दु धर्ममा व्याप्त जातिवाद या ‘ब्राम्हणवाद’ तथा भेदभाव विरुद्ध दलित तथा आदिवासीको बहुसंख्याले धर्म त्याग गरी इस्लाम या इशाई बनेका छन्। विश्व हिन्दु परिषदले त्यसलाई ‘करेक्सन’ गर्ने प्रणका साथ उनीहरुलाई ‘परिवार’ मा फिर्ता ल्याउने अभियान जारी राखेका छन्। सक्रियताका साथ। अम्बेडकर ‘बाम्हणवाद’ या हिन्दु वर्णव्यवस्था विरुद्धको अभियानका सांकेतिक व्यक्तित्व या ‘आइकन’ का रुपमा लिइन्छन् अझै पनि । मोदीले लुम्बिनी विश्व विद्यालयमा ‘अम्बेडकर’ चेयर स्थापना गरेर त्यो समूहको हिन्दुधर्मप्रतिको अविश्वासलाई सम्बोधन गर्ने कोशिस गरेका छन्। अर्कोतिर त्यहाँको कांग्रेस पार्टी र धर्म निरपेक्षताको वकालत गर्ने नेताहरुबाट डा अम्बेडकर प्रति देखाईको उपेक्षा भावलाई भारतीय जनता पार्टी सुधार्न प्रतिवद्ध रहेको सन्देश नेपाल या लुम्बिनीबाट दिन चुकेनन् उनी बुद्ध पूर्णिमाका दिन । डा. अम्बेडकरले हिन्दु धर्म त्यागी बुद्धमार्गी बनेको दिन सम्राट अशोकले ‘बुद्ध धर्म’ मा प्रवेश गरेको अवशरको जयन्ती थियो। त्यस्तै अवशर रोजे मोदीले आफ्नो सन्देश दिन।

अम्बेडकरको संघर्ष, जीवनी हिन्दु धर्मको विद्रोह र धर्म परिवतर्नलाई आज विश्वमै समता, समानता र स्वतन्त्रताको आन्दोनको रुपमा र उनलाई त्यसको प्रेरणाको रुपमा लिइन्छ। अम्बेडकरको हिन्दु विरोधी छवीले हिन्दुवादी भारतलाई र भारतीय जनाता पार्टीलाई पुग्न सक्ने राजनीतिक र सामाजिक क्षतिबारे मोदी कति सचेत रहेछन्, त्यो लुम्बिनीमा ‘अम्बेडकर चेयर’ को स्थापनाले पुष्टि गरेको छ।

नेपालमा राजदूत रही भारतीय विदेश सेवाबाट अवकाश प्राप्त रणजित रेले आफ्नो अनुभव र बुझाईका अनेक मनोगत र तथ्यगत विवरण ‘काठमाण्डु डिलेमा’ नामक आफ्नो पुस्तकमा पस्केका छन्। लुम्बिनीमा चीनियाँ चासो र त्यहाँको नेपालमा सरोकार राख्ने शक्तिका लागि रणनीतिक महत्व यथार्थ हो। रे का अनुसार माअ‍ोवादी लगायत १२ – बुँदे पक्षधर र ‘क्रान्तिपुत्रहरु’ ले अंगालेको एजेन्डा र परिवर्तनलाई निर्देशित गर्ने भारत नीतिका ‘असली रचयिता’ श्याम सरण र उनी विदेश सचिव छँदा बाह्य जासूसी संस्था ‘रअ’ का प्रमुख रहेको होर्मिज थारकन नै हुन्। भारतको शक्तिशाली सेना र अर्को जासुसी संस्था ‘इन्टेलिजेन्स व्यूरो’ ले नेपालमा भारत सरकारले माओवादीसँग सहकार्य गर्न नहुने बरु उनीहरुलाई परास्त गर्ने नेपाली सेनालाई सहयोग दिनु पर्ने अडान राखेता पनि सरण र होर्मिज लाइन अन्तत: विजयी भयो। कांग्रेस नेतृत्वको सरकारकामा सरणरचित त्यो भारत नीति नै अहिले मोदी सरकारको पनि नीति हो। नेपालको जस्तो दल र नेता पिच्छेका छिमेकी र विदेश नीति भारतमा छैन।

भारतको त्यो नयाँ नीति अन्तर्गत नै जालझेल र तिकडमद्वारा राजसंस्थाको अन्त गरिएको मात्र हैन, गणतन्त्र स्थापनामा यूरोपेली संघ र अमेरिकासँग सहयोग खोजिएको थियो।

धर्म निरपेक्षता उनीहरुको शर्त थियो, गणतन्त्र अनुमोदनको लागि। यो परिवर्तनपछि अमेरिका र बेलायत कसरी ‘धर्म परिवर्तन’ मा संलग्न छन्, नेपालमा त्यसको व्याख्या पनि रेको पुस्तकमा छ। तर आफ्नो वृहत स्वार्थका लागी नेपालमा अस्थिरता नै ठिक छ भन्ने मान्यता भारतीय नीति निर्धारकमा छ भन्ने मोदीले बुझेका छैनन् भन्न सकिन्न।

राजसंस्थाको उन्मूलनपछि मुलुकमा उत्पन्न राजनीतिक र संवैधानिक रिक्ततासँगै १२ – बुँदे पक्षधर शक्तिहरुमा देखिएको परचालित, परिचालित अनि दलाल चरित्र तथा तिनीहरुका बाह्य अभिभावकीय शक्ति भारत, अमेरिका र यूरोपेली संघका प्रतिस्पर्धीका रुपमा कुटनीतिक, व्यापारिक, राजनीतिक उपस्थिती बढाएको चिन बिचको द्वन्द्वको अनुभूति नेपालमा शासकहरुले मात्र हैन, आम जनताले पनि गरिरहेका छन्। नेपालमा ठूलो आकारमा प्रवेशसँग चिनले लुम्बिनीमा पनि चासो देखायो। विश्व शान्तिका साथ तीन अर्ब डलर खर्चगरी लुम्बिनीमा शहर निर्माण र त्यहाँ रेल पुर्‍याउने उसको चाहनाकै सेरोफेरोमा भारतीय प्रधानमन्त्री पहिलोपटक त्यो सीमावर्ती क्षेत्रमा पुगेका हुन्।

मोदीले देउवासँगै सम्बोधन गर्ने ‘हल’ को सजावट बुद्धमय देखिन्थ्यो। बौद्धस्थित का– निङ शेङ्रव लिंग गुम्बाबाट पठाइएका आठ बोधिसत्वका मूतिहरु मञ्च र हलका विभिन्न दिशामा राखिएका थिए भने बुद्धको जीवनी र दर्श बुझाउने व्याङकहरु भित्तामा सजाइएका थिए।

तर, त्यो सबै तयारी हेरिरहेका बुद्धधर्म वृत्तमा एकजना स्थापित गुरु अघिल्लो दिन त्यहाँ छरिएका ‘लिटरेचर’ (फोटो, आलेख) हेरेर दुखी थिए। ‘बुद्ध जन्मथालेमा एउटा ‘हेडलेस हिस्टोरी’ मुर्कट्टा इतिहास) प्रस्तुत गर्ने प्रयासले राम्रो सन्देश दिने छैन’, उनले भने।

बुद्ध जन्मथलो लुम्बिनीलाई अन्तर्राष्ट्रिय नक्सामा स्थापित गर्ने पहिलो प्रयास राजा महेन्द्र र संयुक्त राष्ट्र संघका महासचिव ऊ थान्त बिच सन् १९६७ मा एएटा समझदारीका रुपमा अघि बढेको थियो।

महासचिव उ थान्तले राष्ट्रसंघमा त्यो एजेन्डालाई प्रवेश गराए। त्यो प्रयासको प्रारम्भिक क्रममै राजा महेन्द्रको निधन भयो। उनका उत्तराकिकारी राजा विरेन्द्रले प्रस्ताव अघि मात्र बढाएनन बुद्धको सन्देशसँग राज्यको कुटनीति जोडदै आफ्नो राज्याभिसेकमा नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गर्न अन्तरराष्ट्रिय जगतसँग आग्रह पनि गरे।

लुम्बिनीको विकासलाई मूर्त रुप लिन उनले अधिराजकुमार ज्ञानेन्द्र शाहलाई लुम्बिनी विकास योजनाका अध्यक्ष बनाए। ‘हिरोशिमा पिस मेमोरियल म्यूजियम’ का डिजाइनर जापानी केन्जोरांगेलाई लुम्बिनी विकासको मोडेल तयार गर्न जिम्मा दिइयो। गुरुयोजना क्षेत्र करिब ३ माइल लम्बाई र डेढ माइल चौडाईमा रोपिएका वृक्षहरु र निर्मित ताल अहिले ‘क्लाइमेट चेन्ज’को यो भागमा हरियालीसँगै जनावरहरुको आश्रय थलो बनेको छ। यो उपस्थिति गुम्बाहरु,शान्ति र मोक्ष प्राप्तिमा सहयोगी माध्यम हुन्।

सम्भवत वैशाख पूर्णिमाका दिन भित्तामा टाँस्न त्यहाँ ल्याइएका ती पोस्टर र फोटोहरुमा लुम्बिनी अवधारणाका रचियता र त्यसलाई मूर्तरुप दिन नेतृत्व दिने कसैको फोटो या विवरण थिएन। अन्ततः तिनीहरुको प्रयोग भएन, सम्भवत केही गम्भीर आपत्ति र मन्थन पछि।

तर, नेपालको इतिहासलाई खण्डित रुपमा प्रस्तुत गर्ने चरित्र र अपराध खुलेरै भई रहेका छन् मुलुकमा। लुम्बिनीमा पनि त्यो प्रयास भयो।

केही हदसम्म आफ्नो राजनीति र आस्थाले मोदीलाई लुम्बिनी पुर्‍यायो होला। तर चीन एउटा महत्वपूर्ण ‘फ्याक्टर’ थियो त्यसका लागि। हाम्रा पात्रहरुले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक विरासतलाई इमानदार, आन्तरिक र तथ्यपूर्ण ढंगले अगाडि बढाउने छन्, या विदेशी शक्ति बोलाई मुलुकको राजनीति जस्तै लुम्बिनी समेतलाई त्यो युद्ध मैदानमा धकेल्ने प्रयास गरी रहने छन्, हेर्न बाँकी नै छ। एउटा ‘निर्णायक पडाव’ मा लुम्बिनी प्रवेश गरेको छ।

जेठ ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्