आइएमई ग्रुपका वरिष्ठ प्रवन्धक एवम् प्रवक्ता राजु पौडेलसँगको कुराकानी

‘मलाई आनन्द कहाँ छ भनेर कसैले सोध्यो भने साहित्यमा भन्छु’

काठमाडौं- साहित्य क्षेत्र एक महत्वपूर्ण र गहन विषयको क्षेत्र हो। जो कोही व्यक्ति साहित्यमा सजिलै भिज्न सक्दैनन् र जो साहित्यसँग नजिक हुन्छन् उनीहरु यस क्षेत्रबाट प्राय: बाहिर निस्कन चाहँदैनन्। साहित्य क्षेत्रमा रुचिसँगै व्यापार व्यवसाय गर्ने, राजनीति गर्ने लगायत विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरुको जमात ठुलो छ। यसकै एक उदाहरण हुन् आइएमई ग्रुपका वरिष्ठ प्रबन्धक एवम् प्रवक्ता राजु पौडेल।

उनी आफुलाई साहित्यको विद्यार्थी भन्न रुचाउँछन्। उनी आइएमई ग्रपमा विगत दुई दशकदेखि कार्यरत छन्।

उनी आफ्नो कार्यक्षेत्रले पनि धेरै साहित्यिक व्यक्तित्वहरुसँग भेट्ने, कुराकानी गर्ने मौका प्राप्त भएको सुनाउँछन्। यसरी भेट्ने, कुराकानी गर्ने गर्नाले पौडेलप्रति साहित्यको लगावलाई अझै बढाउँदै गयो।

साहित्यप्रतिको लगाव सानो देखिनै भएको उनी बताउँछन्।

‘इमानदारीसाथ भन्नुपर्दा ७ कक्षा पढ्दा म्याक्सिम गोर्गीको आमा भन्ने उपन्यासको नेपाली अनुवाद पढेपछि साहित्यप्रतिको धारणा नै बदलियो,’ उनी आफु विकट गाउँको भएकोले पढ्ने सामग्री सजिलै उपलब्ध नहुने बताउँदै भन्छन्, ‘म्याक्सिम गोर्गीको आमा उपन्यासको नेपाली अनुवाद मेरो हातमा परेपछि मैले पाँच सात पटक पढेँ हुँला । त्यसपछि साहित्यप्रतिको एक किसिमको लगाव बाल्यकालदेखि नै भयो । त्यसपछि भने म विद्यालय गएर प्रधानाध्यापकसँग पुराना गोरखापत्रहरु दिनका लागि अनुरोध गर्न थालेँ ।’

उनी पहिलेदेखि नै शान्त स्वभावको थिए। पत्रपत्रिका वा कुनै पढ्ने पुस्तक पाउने बितिकै घाममा बसेर त्यो पढेर सिध्याउँथे।

साहित्यप्रतिको अर्को लगाव भनेको विद्यालयका नेपाली पढाउने गुरुवर्गहरु रहेको उनी बताउँछन्।

उनी भन्छन्, ‘त्यसरी पढ्दै जाँदा मेरो लेखनको शैलीमा पनि सुधार आएको होला । बोल्ने शैलीमा पनि केही सुधार आएको होला । जब म एसएलसीको वरिपरी पुगेँ, त्यो बेला गुरुहरुले तिम्रो बोल्ने, लेख्ने शैली एकदमै राम्रो छ यसलाई आगामी दिनमा अगाडि बढाउनु भन्ने खालको प्रतिक्रिया दिनुभयो । यसले पनि मलाई एक खालको प्रेरणा मिल्यो ।’

एसएलसीपछि आफू चितवन आएको उनी सुनाउँछन्। उनका लागि चितवन साहित्यको लागि उर्वर भूमि भएको बन्यो। त्यसपछि उनले एफएमहरुमा सञ्चालन हुने साहित्यिक कार्यक्रमहरुमा आफ्नो लेखहरु प्रकाशन गर्न थाले। उनले चितवन पोस्ट लगायत त्यहाँका स्थानीय पत्रिकामा गजल, कविता, कथा र आर्टिकल दिन थालेँ र छापिन थाले । यसैगरी उनको साहित्यिक यात्रा अघि बढ्दै गयो।

उनी काठमाडौँ आइसकेपछि भने आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयवस्तुमा पनि कलम चलाउनुपर्छ भन्ने हिसाबले लेख, आर्टिकलहरु लेख्ने गरेका छन्।

‘म एउटा किताब लिएर पढ्न बसेँ भने मजाले चार पाँच घण्टा हलचल नगरीकन मजाले बसेर पढ्न सक्छु । विषयवस्तुहरुप्रतिको जुन धैर्यता हुन्छ त्यो धैर्यताको विशेषता ममा अलि बढी नै छ जस्तो लाग्छ,’ उनी भन्छन्, ‘मलाई लाग्छ, साहित्यको क्षेत्रमा म जुन चिजहरु उत्पादन गर्छु र ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्जालमा स्टाटसका रुपमा पोस्ट गरेँ भने पनि साथीहरुले वाह भनिदिनुहुन्छ । तपाईंको लेखन शैली राम्रो छ, शब्द चयन गर्न जान्नुहुन्छ भनिदिनुन्छ त्यसले पनि मलाई एकखालको प्रेरणा प्रदान गर्छ ।’

पाठकहरुको हौसला र प्रेरणाले साहित्यप्रतिको रुचि अझै बढाउने उनी बताउँछन्। उनी भन्छन्, ‘संसारका सबै मान्छेलाई चाहिने भनेको आनन्द हो । मलाई आनन्द कहाँ छ भनेर कसैले सोध्यो भने साहित्यमा भन्छु ।’

उनी अवकाशपछि पैसाकै रुपमा साहित्यमा लाग्ने सोच रहेको सुनाउँछन्। उनी राजनीतिक किताबहरु, दर्शनका किताबहरु, संस्कृतिका किताबहरु बढी पढ्न रुचाउँछन्।

‘अहिलेको अवस्थामा हेर्ने हो भने पढ्दै जाँदा मेरो पारिवारिक पृष्ठभूमि राजनीतिक भएकाले पनि राजनीतिक किताबहरु बढी पढेँ । विश्वेश्वरप्रसाद कोइरालाका किताबहरु, मदन भण्डारीका दस्तावेजहरु, आस्थासँग सम्बन्धित किताबहरु बढी पढेँ । आस्थामा आधारित राजनीतिक प्रणाली जुन छ संसारभरी, र नेपालमा पनि त्यसको अभ्यास भइराखेको छ त्यस्तो खालको आस्थामा आधारित चिन्तन प्रणालीलाई अध्ययन गरेँ,’ उनी भन्छन्, ‘संख्यामा गन्ने हो भने ४०० को हाराहारीमा किताब पढेँ । सिर्जनाकै हिसाबले भन्ने हो भने कथा, कविता, गजल र आर्टिकलहरु गरेर मेरो विभिन्न सञ्चार माध्यममा ३५० को हाराहारीमा पब्लिस भएका छन् ।’

उनी सुरुमा आफूले लेख्ने गजलहरु ज्ञान नै नभई लेखेको बताउँछन्। पछि पढ्ने र पढाउने क्रममा साहित्यबारे थप जानकारी लिदै सिक्दै गएको उनी बताउँछन्।

उनी २०६२ सालमा अफिसकै कामको शिलशिलामा साउदी अरब गएका थिए । तीन महिनाका लागि गएका उनले झण्डै आठ वर्ष साउदीमा बिताए। त्यहाँ रहँदा पनि उनले अन्तर्राष्ट्रिय साहित्य मञ्चमा रहेर काम गरे।

गहिरिएर अध्ययन गरिएन भने ज्ञान प्राप्त गर्न नसकिने बताउँदै उनी अहिलेको नयाँ पुस्ताको साहित्यप्रतिको लगाव कम भएको उनी बताउँछन्।

‘हामीले पढ्ने पत्रपत्रिका, साहित्य हाम्रा छोराछोरीले पढ्दैनन् भने यो जेनेरेसन ग्यापले गरेर हो । एक हिसाबले भन्ने हो भने गहिरिएर अध्ययन गरिएन भने ज्ञान प्राप्त गर्न सकिँदैन । अहिलेको अवस्थामा  सामाजिक सञ्जालमा आउने विभिन्न मनोरञ्जन दिने सामग्रीहरुले अहिलेका जेनेरेसनलाई किताबबाट डाइभर्ट गर्‍यो,’ उनी भन्छन्, ‘मजाले बसेर पलेँटी कसेर पढ्ने जुन संस्कार थियो त्यो संस्कारलाई अहिले यस्ता अतिरञ्जित गर्ने सामग्रीहरुले डाइभर्ट गरिदिए । यिनीहरुमा गहिरो ज्ञानभन्दा पनि सतही ज्ञान बढी छ। अहिले हाम्रो आयातित संस्कृतिमा रमाउने, सतहमा रमाउने अभ्यास हाम्रो समाजले गरिरहेको छ। त्यो समाजको एउटा नराम्रो पक्ष हो। यो सुधार्न आवश्यक छ। पठन संस्कृतिको विकास गर्नुपर्छ। ज्ञान आर्जनका लागि पढ्नैपर्छ।’

सरकारले साहित्यलाई चासो नदिएका कारण पलायन हुँदै गएको उनी बताउँछन्।

‘एउटा सर्जकले सिर्जना फुराउनका लागि कति समय खर्चिन्छ त्यसको हिसाब नै हुँदैन। उसले त्यति धेरै समय खर्चिएर लेखेको आर्टिकल कुनै पत्रिकामा छापियो भने पनि उसले ३००० पाउने हो पारिश्रमिक । राज्यले सर्जकहरुप्रति दर्शाउने जुन सम्मान हो, त्यो सम्मान भएको हिसाबले उहाँहरुको विकास पनि भएन,’ उनी भन्छन्, ‘रोजिरोटीको पनि समस्या होला । तुलनात्मक धेरै खर्च छ । त्यो खर्च धान्नलाई बाध्यकारी रुपमा लेखन छोडेर अर्को पेसा अबलम्बन गरेको पनि हुनसक्छ । सर्जकहरुको मेहनत, बौद्धिक अभ्यास त्यसको उचित सम्मानका लागि राज्यले युग सुहाउँदो सुविधाको व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ । यदि यो गर्न सकिएन भने साहित्य, संस्कृति राष्ट्रको पहिचान हो, यो हराएर जान्छ ।’

साहित्यमा मिडियाको भूमिका भने महत्वपूर्ण हुने उनी बताउँछन्। विच्छृखंलता तथा मुनाफा कमाउने उद्योगको रुपमा मात्र खोलिएका मिडियालाई पर राखेर हेर्ने हो भने मिडियाले साहित्यलाई स्थान दिएको उनी बताउँछन्।

उनी भन्छन्, ‘साहित्यकै हिसाबमा हेर्ने हो भने, मिडियाले साहित्ययलाई स्थान दिएका नै छन् । साहित्यिक विषयवस्तुका लागि मात्र भनेर पनि छुट्टै अनलाइनहरु पनि चलिरहेका छन् । नयाँपुस्ताका सिर्जनाले पनि स्थान पाइरहेका छन् । यो एकदमै सराहनीय कुरा हो।’

भाषाको हिसाबले नेपाल धेरै समृद्ध मुलुक रहेकोले यसलाई संरक्षण गर्नु आवश्यक रहेको उनी बताउँछन्। भाषा साहित्यको सम्मान गर्नुपर्ने र भाषा, संस्कार, संस्कृति बाँकी रहे मात्र हामी रहने उनको भनाइ छ।

जेठ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्