निजी क्षेत्रलाई पेट्रोलियम पद्धार्थको आपूर्ति गर्न दिनेबारे सरकार मोडालिटी बनाउँदै छः मन्त्री बडू

फाइल तस्बिर।

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रलाई पेट्रोलियम पद्धार्थको आपूर्ति गर्न अनुमति दिनुपर्ने बताएका छन्।

आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौँमा आयोजना गरेको ‘विद्यमान विश्वव्यापी खाद्य तथा इन्धन समस्याको प्रभाव एवं समाधानका उपाय’ विषय अन्तर्क्रियामा बोल्दै मन्त्री बडूले पेट्रोलियम पद्धार्थको आपूर्तिका लागि निजी क्षेत्रलाई अनुमति दिनुपर्ने बताएका हुन्।

निजी क्षेत्रलाई पेट्रोलियम पद्धार्थको आपूर्ति गर्न दिएमा नेपाल आयल निगमसँग पनि मूल्यमा प्रतिस्पर्धा हुने र उपभोक्ताले कम मूल्यमा पाउन सक्ने उनले बताए। पेट्रोलियम पद्धार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले दीर्घकालीन योजना बनाउन लागेको उनले उल्लेख गरे।

उनले भने, ‘पेट्रोलियम पद्धार्थको आपूर्तिमा पनि निजी क्षेत्रको सहभागिता कसरी गराउन सकिन्छ, हामी त्यसरी पनि सोचिराखेका छौँ। एउटा अथोरिटी बनाइदिने हो भने र उसले रेगुलेट गर्ने हो भने निजी क्षेत्रको पनि आपूर्तिकर्ताहरु आउँछन् भने एउटा प्रतिस्पर्धा सुरु हुन सक्छ मूल्यमा। त्यो मूल्यको प्रतिस्पर्धाले फाइदा त अन्तमा उपभोक्तालाई होला नि। र हाम्रो आयल निगमले मात्र आफूलाई फेरि व्यवस्थित गर्नुपर्ला, प्रतिस्पर्धामा ऊ पनि जानुपर्ला नि त। त्यसो गर्दा उसलाई एउटा प्रतिस्पर्धा खुलाइदिने हो कि? दीर्घकालीन समाधान त्यो पो हो भन्ने कुरा भइरहेको छ। हाम्रो मन्त्रालयको टीम बसेर त्यसतर्फ काम गर्ने सुरुवात गरेका छौँ। र नीतिगत रुपमा हामीले निजी क्षेत्रको प्रवेशलाई इन्धनको आपूर्तिमा पनि सहभागि गराउनुपर्छ। यतातर्फ दीर्घकालीन तयारीको आवश्यकता छ।’

मन्त्री बडूले निष्क्रिय अवस्थामा रहेका उद्योगहरुलाई पनि निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गर्ने गृहकार्य गरिएको बताए। उद्योग सञ्चालन गर्दा उत्पादन र रोजगारी बढ्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले भाडामा सञ्चालन गर्न चाहेमा दिने गरी मोडालिटी तयार गर्न लागेको बताए।

उनले भने, ‘कतिपय रुग्ण उद्योगहरु अहिले निष्क्रिय अवस्थामा छन्। तिनलाई सञ्चालन गर्ने र मुलुकमा रोजगारी सिर्जना गर्ने र निष्क्रिय रहेका उद्योगहरुलाई निजी क्षेत्रको सहभागितामा अथवा सरकार, निजी क्षेत्रको मोडलमा। अथवा लामो लिजमा निजी क्षेत्र सञ्चालन गर्न आउँछ भने किन नदिने? एकातिर रोजगारी बढ्छ अर्कोतिर उत्पादन बढ्छ। निजी क्षेत्र त्यसरी आउँछ भने त्यो मोडालिटी तयारीमा पनि अहिले हामी लागेका छौँ।’

जेठ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्