धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले लिए सपथ

मोरङ – स्वतन्त्रबाट उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको मेयर बन्न सफल हर्कराज राई साम्पाङले पद तथा गोपनियताको सपथ लिएका छन्।

सोमबार इनरुवामा आयोजित सपथग्रहण कार्यक्रममा नवनिर्वाचित मेयर साम्पाङले सपथ लिएका हुन्। नवनिर्वाचित मेयर साम्पाङलाई जिल्ला निर्वाचन अधिकृत कैलाश सुवेदीले सपथग्रहण गराएका थिए।

कम्युनिष्ट गढको रुपमा चिनिँदै आएको धरानमा स्वतन्त्रतर्फबाट विजयी भएका मेयर साम्पाङ नेपाली दौरासुरुवालमा उपस्थित भएका थिए। इनरुवामा करिब १० मिनेटको सपथग्रहण कार्यक्रमलगत्तै मेयर साम्पाङ धरान फर्किएका थिए।

यस्तै मेयर साम्पाङ सोमबार नै धरानस्थित पब्लिक हाइस्कुलमा धरानका विभिन्न २० वटाबाट विजयी अध्यक्ष उपाध्यक्षलगायतका पदाधिकारीलाई सपथ गराएका छन्। आइतबार सार्वजनिक गरिएको अन्तिम मतगणनामा साम्पाङले २० हजार ८ सय २१ मत ल्याएर विजयी भएका थिए।

धरानको खानेपानीदेखि सुकुम्बासी समस्या, स्वास्थ्य क्षेत्रको बेथिति, सुशासन कायमलगायतका विषयमा उनले प्रतिवद्धता व्यक्त गर्दै आएका छन्।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्