रामेश्वर श्रेष्ठको निवेदनः रुखमा खसेको भोट पनि मेरै कायम हुनुपर्छ

काठमाडौँ – गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले रुखमा खसेको भोट पनि आफ्नोमा कामय गर्न मुख्य निर्वाचन अधिकृतसमक्ष निवेदन दिएका छन्।

श्रेष्ठले उम्मेदवार नभएको रुखमा खसेको मतसमेत आफ्नोमा कामय गरिदिन आइतबार मुख्य निर्वाचन अधिकृत राजुकुमार श्रेष्ठसमक्ष निवेदन दिएका हुन्।

उनले देश सञ्चारसँग कुरा गर्दै भने, ‘उपप्रमुखमा कलम र रुख दुवैमा हालेको मत मेरोमा कायम हुनुपर्छ। मेरो चिन्ह कलममा पनि हालेको र उम्मेदवार नै भएको रुखमा पनि परेको मत मेरै हो। त्यसलाई आयोगले कामय गरिदिनुपर्छ।’

गठबन्धनले काठमाडौँको प्रमुखमा कांग्रेसकी सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ भने उपप्रमुखमा एकीकृत समाजवादीले श्रेष्ठलाई अघि सारेको छ। निर्वाचन आयोगको पछिल्लो औपचारिक विवरण अनुसार श्रेष्ठले १५ हजार ६७० मत ल्याउँदा एमालेकी सुनिता डंगोलले ४४ हजार ७०५ मत पाएकी छिन्।

श्रेष्ठका अनुसार उपप्रमुखमा करिब ३८ हजार मत बदर भएको छ।

आयोगसमक्ष उनले भनेका छन्, ‘उम्मेदवार नभएको निर्वाचन चिन्हमा मात्र मत सङ्केत गरिएको मतपत्रलाई सो पदका हदसम्म मात्र बदर गर्नुपर्नेमा प्रतिस्पर्धीद्वारा नै नभएका कलम र रुख चिन्हमा मतसङ्केत भए पनि म उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई समेत बदर गरी गणना गरेको र यसबाट मत परिणाममा असर परी, उपविजेता हुने उम्मेदवारले जित्ने र जित्ने उम्मेदवारले हार्ने अवस्थाको गणितीय अवस्था देखापरेको छ।

तसर्थ स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनशायअनुसार हुनेगरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रुख चिन्हमा मतसङ्केत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मतसङ्केतलाई सदरमानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दाहोर्‍याइ गणना गर्न र बाँकी मतपत्रसमेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाउँ।’

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्