अस्पतालले रेफर गरेका बिरामीले पाएनन् हवाई टिकट

सिमकोट – जिल्ला अस्पताल उपचार गर्न नसकिने भन्दै बाहिर रेफर गरिएका बिरामीले हवाई टिकट नपाउँदा बिरामी र आफन्तद्वारा जिल्ला प्रशासन कार्यालय गुहार्नुपरेको छ।

बिरामी र आफन्त उपचार गर्न जानका लागि टिकटको व्यवस्था गर्न प्रशासनमा जानुुपरेको हो। बिरामी पन्चे कामीले केही गरे पनि टिकट नपाएपछि अन्तिममा प्रशासन गुहार्नुपरेको बताए।

आइतबार बिरामी कामीलाई अस्पतालले जिल्ला बाहिर रेफर गरे पनि टिकट नपाएपछि जिल्लामै बसेका छन्। सोमबार तारा एयरको जहाजले उडान भरे पनि उनले जान पाएनन्।

शनिबार जिल्ला अस्पतालमा भर्ना हुँदा उपचार हुन नसकेपछि जेठ ८ गते जिल्ला अस्पतालले बिरामी कामीलाई रेफर गरे पनि हवाई टिकट नपाउँदा बिरामीलाई बोकेर बस्ने कोठामा फर्कनुपरेको बिरामीका छोरा रुपेश टमटाले गुनासो गरे।

उनले बुबाको आँखा पहेला भएको र कलेजोमा जटिल समस्या आएपछि जिल्ला अस्पतालले इमरजेन्सीमा रेफर गरेका बिरामीलाई नउडाएर पहुँजका भरमा एयरलाइन्सका कर्मचारीले अन्यलाई टिकट वितरण गरेको बताए।

तारा एयरको पहिलो फ्लाइटमा टिकट भने पनि दोस्रो फ्लाइटमा उडाउने भनेर आश्वासन दिए तर पछि उडान रद्द भएको भनेर जवाफ आएपछि बिरामीलाई घर फर्काउन बाध्य भएको छोराले दुःख व्यक्त गरे।

टिकट नपाएर घर फर्कनुपरेपछि बिरामीका परिवारले जिल्ला प्रशासन कार्यालयमा धाउनुुपरेको हो। बिरामी र आफन्त सबै बस्दै सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुुगेर रुँदै टिकटका लागि अनुरोध गरेका थिए।

सो विषयमा सहायक प्रमुुख जिल्ला अधिकारी अनुपम पौडेलले नियमित हवाई उडान नहुनु पहिलो समस्या भएको बताए।
बिरामीलाई नेपालगञ्ज तथा सुर्खेतसम्म उडानका लागि आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ।

०७८ साल चैत पहिलो सातादेखि कलेजोमा समस्या भएर संकटमा परेका खार्पुनाथ गाउँपालिका–३ राया गाउँका कामी बिरामी पर्दै आएका छन्।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्