माटोको इँट्टालाई ‘सुन’ भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ

दाङ – दाङमा माटोको इँट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन्। तुलसीपुरको एकान्त होटेलमा दुई वटा इँट्टा सुन भनेर सर्वसाधारण नागरिकलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रा नाकाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का, सल्यानको शारदा नगरपालिका वडा नम्बर १ का ४९ वर्षीय सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका–१ का ३० वर्षीय गीता बुढा र दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन्।

पक्राउ परेकाहरुको साथबाट दुई थान इँट्टाको टुक्रा, हरियो रंगको जेब्रा झोला १ थान र सुनजस्तो देखिने पहेंलो धातुको टुक्रा एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

पक्राउ परेका उनीहरुले सुनजस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याई झोलामा राखेको इट्टा बिक्री गर्न खोजेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्