क्यानसँग ईपिएलको असन्तुष्टि

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले एउटै मात्र टी–२० लिग आयोजना गर्ने घोषणा गरेसँगै फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपिएल) का टिम मालिकहरूले क्यानको कदमलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्।

एउटै फ्रेन्चाइज प्रतियोगिता नेपाल टी–२० लिग आयोजना गर्ने क्यानको निर्णयले यसअघि फ्रेन्चाइज क्रिकेटमा लगानी गरिरहेका कर्पोरेट क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका हुन्।

उनीहरूले फ्रेन्चाइज क्रिकेटमा ठूलो लगानी गरिसकेको बताउँदै कर्पोरेट क्षेत्रका लगानीकर्ताले प्रतियोगिताको निरन्तरताको माग गरेका हुन्।

क्यानको निर्णयसँगै मिति घोषणा भइसकेको पाँचौँ संस्करणको इपिएलले मान्यता नपाउने देखिएको थियो।

यसै सन्दर्भमा सोमबार पत्रकार सम्मेलनमार्फत नेपाल टी–२० बाहेक अन्य प्रतियोगितालाई मान्यता नदिए इपिएल र यसका ६ फ्रेन्चाइज टिमले क्यानले आयोजना गर्ने सबैखाले प्रतियोगिता बहिष्कार गर्ने चेतावनीसमेत दिएका थिए।

क्यानले गरेको निर्णय सही नभएको ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जनले बताए।

उनले क्यान निलम्वित हुँदासमेत ईपीएलले नेपाली क्रिकेटमा सहयोग गरेको भन्दै क्यानको यो निर्णयबाट सम्बन्धित सबै निकाय निराश भएको बताए।

‘क्यानले गरेको घोषणाबाट ईपीएल र यससँग सम्बन्धित सबै सरोकारवाला पूर्ण रूपमा निराश र स्तब्ध छौँ। ईपीएलले क्यान निलम्बित हुँदा वा कोभिड १९ का कारण सम्पूर्ण कार्य ठप्प हुँदाको कठिन समयमा पनि क्षमताले सकेसम्म नेपाली क्रिकेटलाई सहयोग गरेका थियौँ’, उनले भने, ‘यदि, क्यानले हालै जारी गरेको निर्णय कार्यान्वयन गर्ने हाम्रा लागि बागमतीमा बग्ने भयो। त्यसबारे क्यानको ध्यान जानुपर्छ।’

क्यानको पछिल्लो कदमबाट यसअघि हुँदै आएको फ्रेन्चाइज क्रिकेट ईपीएलको भविष्य संकटमा देखिएको छ। जसमा कर्पोरेट क्षेत्रले लगानी गरेको करोडौं रकमसमेत जोखिममा परेको छ।

ईपीएलका धेरैजसो टिम मालिकको जमघट भएको पत्रकार सम्मेलनमा कर्पोरेट क्षेत्रको लगानीमा धक्का लाग्ने बताएका हुन्। उनीहरूसँग सहमत हुँदै इपीएलका सञ्चालक आमिर अख्तरले आफूहरूलाई पनि काम गर्ने ठाउँ चाहिएको धारणा व्यक्त गरे।
‘क्यान आईसीसीको प्रतिबन्धमा भएका बेला हामीले सहजीकरण नगरेर ईपीएल नगरेको भए नेपाली क्रिकेट, खेलाडी कहाँ हुन्थ्यो ? कुनै नयाँ विदेश कम्पनीलाई विश्वास गर्दा, नेपालको क्रिकेट विकासका लागि लागेको कम्पनीलाई किन हेला? क्यानको यो निर्णयमा हामी निकै स्तब्ध भएका छौं।’

अख्तरले छलफलबाटै अहिले देखिएको समस्या समाधान हुनेमा आफूहरू आशावादी रहेको बताए। उनले सञ्चालकहरू पीडा र अन्यायमा परेको भन्दै ईपीएलसँग जोडिएको कम्पनीले क्यानको लिगमा प्रायोजन नगर्ने चेतावनीसमेत दिए।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्