जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज शाह निर्वाचित, गठबन्धनका उम्मेदवार चौथो स्थानमा

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह निर्वाचित भएका छन् । साहले १३ हजार ४६५ मत ल्याएर निर्वाचित भएका हुन् । २०७४ को निर्वाचनमा साह नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दिएका थिए तर त्यसबेला उनी निकटतम प्रतिद्वन्दीमा सिमित भएका थिए ।

यस पटक भने सत्ता गठबन्धनमा जनकपुरधामको मेयर जनता समाजवादी पार्टीको भागमा परेपछि मनोजले स्वतन्त्र उम्मेदवारी दिएका थिए । गत निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट जितेका लालकिशोर साह यस पटक चौथो नम्बरमा सिमित भएका छन् । उनले ५ हजार १९४ मत ल्याए ।

यस्तै मनोजको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत ल्याए । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३६० मत ल्याएर तेस्रो स्थानमा रहे ।

यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह निर्वाचित भएका हुन् । उनले १५ हजार ५२५ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रुना झाले १० हजार ८८५ मत ल्याइन् ।

यस्तै निवर्तमान उपमेयर लोसपाकी रिता कुमारी मिश्रले ५ हजार ८१७ मत सहित तेस्रो स्थानमा रहेकी छन् ।

यस्तै २५ वटा वडामध्ये ११ वटा वडामा कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् ।

 

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्