अनुमोदन रोकिएका प्रस्तावित दुई राजदूतको निर्णय भोलि हुने

फाइल फोटो

काठमाडौँ – उजुरीका कारण संसदीय सुनुवाइ समिति अध्ययन गरेको दुई देशका लागि प्रस्तावित राजदूतबारे मंगलबार निर्णय हुने भएको छ।

२० देशका लागि प्रस्तावित भएका राजदूतमध्ये सुनुवाइ समितिले १८ जनाको नाम अनुमोदन गरे पनि श्रीलंकाका लागि प्रस्ताव गरिएका वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्ताव गरिएका रामस्वार्थ रायको नाम अनुमोदन हुन सकेको छैन।

सुनुवाइ समितिमा परेका तीन उजुरीमध्ये एक सैद्धान्तिक खालको थियो भने बाँकी दुईवटा मिश्र र रायका विरुद्ध थियो। सुनुवाइ समितिमा मिश्रविरुद्ध नक्कली सर्टिफिकेट लिएको एवं बेलायतीको आवासीय अनुमति पत्र भएको उजुरी परेको छ भने रायविरुद्ध धनुषा विज्ञान क्याम्पसमा अनियमितता गरेको अरोप लागेको छ। मिश्र कांग्रेसको कोटामा सिफारिस भएका हुन् भने राय जसपाको कोटामा राजदूत बन्न लागेका हुन्।

शुक्रबार सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेपछि सुनुवाइ समितिले उनीहरुविरुद्ध परेका उजुरीबारे थप बुझ्न परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको थियो।

समितिले सोमबार साँझ ५ बजेसम्म दिएको समयमा तीनवटै निकायले आफूसँग भएको जानकारी पठाएका छन्। परराष्ट्र, शिक्षा र आयोगले पठाएको जवाफबारे मंगलबार बिहान समितिले गठन गरेको तीन सदस्यीय कार्यदलमा छलफल हुने सुनुवाइ समितिकी सदस्य एवं सांसद निरुदेवि पालले जानकारी दिइन्।

बिहान १० बजे जितेन्द्र नारायणदेव नेतृत्वको कार्यदलमा छलफल हुने र त्यसले दिएको सुझावका आधारमा ११ बजे बोलाइएको समितिको बैठकले निर्णय गर्ने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। कार्यदलमा शिवकुमार मण्डल पनि छन्।

समितिले मंगलबार, बुधबार, बिहीबार र शनिबारसमेत बैठक राखेर अरु १८ जनाको नाम अनुमोदन गरेको छ। सरकारले गत चैत २४ गते ८ राजदूत कर्मचारी र १२ जना राजनीतिक कोटाबाटा राजदूत सिफारिस गरेको थियो।

समितिले चार दिन सुनुवाइ गरेर विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अष्ट्रेलिया, डिल्लीराज पौडेललाई मलेशियाको राजदूतका रुपमा सर्वसहमतिले नाम अनुमोदन गरेको छ। समितिले शान्ता रिजाललाई इजरायल, दाक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, नवराज सुवेदीलाई साउदी अरब राजदूतका रुपमा अनुमोदन गरेको छ।

समितिले कर्मचारीहरुबाट सिफारिस भएका घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि अनुमोदन गरेको सभापति कर्णले जानकारी दिए।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्