माग्ने बुढाको ‘कमेडी हब’ बुधबारदेखि प्रशारण हुने

काठमाडौँ – हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को निर्देशनमा रहेको स्ट्याण्डअप कमेडी टेलिभिजन शो ‘कमेडी हब’ बुधबारदेखि प्रसारण हुने भएको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा शोको विषयमा औपचारिक जानकारी गराइएको हो।

कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हाँस्यविधाका चर्चित कलाकारले यो शोको शुभारम्भ गरे। एक दर्जनभन्दा बढी नयाँपुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्ने जनाएको छ। कमेडी च्याम्पियन हिमेश पन्तसहितका १८ कमेडियनले स्ट्याण्डअप कमेडी प्रस्तुत गर्ने भएका छन्।

कलाकाल केदार घिमिरेले कार्यक्रममा नयाँ आयाम थपेर प्रस्तुत गर्ने बताए। उनले आगामी दिनमा यसले कमेडीको क्षेत्रमा धेरै सहयोग पुग्ने बताए।

कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेल, जितु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौलालगायतका कलाकारले धेरै आयाम थपेर निर्माण हुन लागेको कमेडी हब सुपरहिट बन्ने भन्दै शुभकामना व्यक्त गरेका थिए।

यसका लागि कमेडी हबले माग्ने बुढा र राजा राजेन्द्रसँग सहकार्य गरेको छ। एपीवान टेलिभिजनमा प्रत्येक बुधबार राति ८ बजे कार्यक्रम प्रसारण हुने जनाइएको छ।

शोमा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेशसहित सुवोध गौतम, राजेन्द्र नेपाली ‘लट्टे’, जानुका पौडेल ‘प्याकुली’, दिलीप तामाङ ‘हुरहुर’, खड्गबहादुर पुन ‘खबपु’, प्रभात लामा, संगम राई ‘लब्ली’, नारिया गिरी, राधिका कँडेल, बेदना राई ‘मैना’, सीता न्यौपाने, अनिल राई ‘आम्बो’, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किनेछन्।

जेठ ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्