सिमकोट – हुम्लामा स्थानीय तह निर्वाचनमा २०७४ सालको भन्दा यो पल्ट चार प्रतिशत भन्दा बढिले मत बदर भएको पाईएको छ ।

जिल्लाका सात वटै गाउँपालिकाका ५४ वटा मतदान केन्द्रमा खसेको मतमा बदर मत प्रतिशत बीस दशमलव ८९ प्रतिशत रहेको मुुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए । अघिल्लो स्थानीय तहको निर्वाचनमा १६ प्रतिशत मत बदर रहेको थियो ।

कुल बदर मत प्रतिशतमा १५ दशमलव ४६ प्रतिशत पद अनुुसारको बदर मत सङ्ख्या रहेको छ भने पाँच दशमलव ४३ प्रतिशत सबै पदको बदर मत रहेका छन् । जिल्ला जिर्वाचन कार्यालयले समग्र रुपमा निकालेको बदर मत विवरण अनुुसार सात वटै गाउँपालिकाको सात वटै पदमा कुल खसेको मत सङ्ख्या एक लाख ४९ हजार २८३ मा २६ हजार ९५२ मत बदर रहेको पाईएको छ ।

कार्यालयका सूचना अधिकारी श्याम बहादुर रानाका अनुुसार यो बदर मत प्रतिशत औसतमा रहेको भएपनि कुनै मतदान केन्द्रका ३२ प्रतिशतसम्म बदर मत रहेका छन् । पद अनुसार बदर मत पनि अध्यक्ष उपाध्यक्षमा कम भएपनि वडा अध्यक्ष र सदस्यहरुमा बढी बदर रहेको पाईएको छ ।

कुनै कुनै मतदान केन्द्रका मतपत्रहरु सतप्रतिशत सदर रहेका पनि छन् । मुख्य निर्वाचन अधिकृत पौडेलले यसरी २०७४ सालको निर्वाचनमा भन्दा यस पटक बदर मत सङ्ख्या बढी हुनुुमा आयोगले मतदाता शिक्षा कार्यक्रम नल्याउनु र उम्मेदवारी दिएका राजनीति दलहबाट पनि मतदाता शिक्षामा ध्यान जान नसक्नु रहेको बताए ।

यसबाट आगामी निर्वाचनमा अनिवार्य मतदाता शिक्षाको आबश्यकता खड्किएकोले आयोगले पनि त्यसै अनुसार व्यवस्था गर्नुपर्ने देखिएको हो ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्