यारी सोलार मिनीग्रीडको काम अन्तिम चरणमा

सिमकोट – हालसम्म विद्युत सेवा नभएको उत्तरी नाम्खा गाउँपालिका–५ को यारीमा सोला मिनीग्रीडको निर्माण कार्य अन्तिम चरणमा पुुगेको छ । जेठ अन्तिमसम्म उक्त मिनीग्रीडबाट विद्युत उत्पादन गर्ने भएपछि कामलाई तिब्रता दिइएको हो ।

ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना तेस्रो चरणका जिल्ला सल्लाहकार विरेन्द्र थापाका अनुुसार उक्त मिनीग्रीडको काम ८० प्रतिशत सम्पन्न भएको छ । उनले जेठ अन्तिमसम्म विद्युत उत्पादन भएर स्थानीयले बत्ती बाल्नुपर्ने भएको कारण कामलाई तिब्रता दिईएको जानकारी दिए ।

यसका लागि बाहिरबाट आवश्यक पर्ने निर्माण सामाग्री सबै र जडान गर्ने दक्ष कामदार निर्माण स्थलमा खटिएका छन्। उक्त मिनीग्रीड निर्माण भएर सञ्चालनमा आएपछि हाल सोलार टुकीबाट बत्ती बाल्दै आएका स्थानीयले पहिलो पटक विद्युत उपभोग गर्न पाउनेछन् ।

पचास किलोवाट विद्युत उत्पादन क्षमता रहेको सो मिनीग्रीडबाट उत्पादन भएको विद्युतले यारी गाउँका ६६ घरधुुरीले उपभोग गर्न पाउनेछन् । यारी तोरीको राम्रो उत्पादन हुने क्षेत्र भएको कारण तेल पेल्ने मेशिन निर्माण गरेर सञ्चालनमा आउनेछ ।

गत भदौमा उक्त मिनीग्रीड निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता भएको र हिमपातको कारण बिचको समयमा काम रोकिएको थियो । यसका लागि गाउँपालिकाले २० प्रतिशत, उपभोक्ताबाट दश प्रतिशत र आयोजनाबाट सत्तरी प्रतिशत लागत साझेदारी गरि तीन करोड लागत लाग्ने गरि निर्माण कम्पनीसंग सम्झौता भएको छ ।

यता नाँम्खा गाउँपालिका– ५ कै हिल्साको सो मिनीग्रड भने नारा लेकमा हिमपात भएको कारण निर्माण सामाग्री लग्न सकिएको छैन । यसले गर्दा हिल्साको निमीग्रीडको निर्माण कार्य केही ढिलाई हुनेछ । हिल्साका लागि एक सय किलोवाट मिनीग्रड निर्माण हुँदैछ ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्