श्रीलंका र डेनमार्कको लागि प्रस्तावित राजदुतको पनि अनुमोदन

काठमाडौँ – संसदीय सुनुवाई समितिले बाँकी दुई देश लागि प्रस्तावित राजदुतको पनि अनुमोदन गरेको छ।

मंगलबार बिहान बसेको बैठकले श्रीलंकाका लागि प्रस्तावित वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्ताव गरिएका रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो।

विभिन्न २० देशका लागि प्रस्तावित भएका राजदूतमध्ये सुनुवाइ समितिले १८ जनाको नाम अनुमोदन गरे पनि श्रीलंकाका लागि प्रस्तावित वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित रामस्वार्थ रायको नाम अनुमोदन हुन सकेको थिएन।

उजुरीका कारण संसदीय सुनुवाइ समिति अध्ययन गरेको दुई देशका लागि प्रस्तावित राजदूतबारे मंगलबार निर्णय भएको हो।

सुनुवाइ समितिमा परेका तीन उजुरीमध्ये एक सैद्धान्तिक खालको थियो भने बाँकी दुईवटा मिश्र र रायका विरुद्ध थियो।

सुनुवाइ समितिमा मिश्रविरुद्ध नक्कली सर्टिफिकेट लिएको एवं बेलायतीको आवासीय अनुमति पत्र भएको उजुरी परेको थियो।

उक्त आवासीय अनुमति पत्रको म्याद सकिएको भन्ने जवाफ आएकाले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

रायविरुद्ध धनुषा विज्ञान क्याम्पसमा अनियमितता गरेको अरोप लागेको थियो। उक्त अनियमितताबारे पनि अनुसन्धान भइरहेको समितिले जनाएको छ।

अनुसन्धान भइरहेकोले दोषी नै भएको ठहर नहुने भन्दै अनुमोदन गरिएको समितिको जवाफ छ।

मिश्र कांग्रेसको कोटामा सिफारिस भएका हुन् भने राय जसपाको कोटामा राजदूत बन्ने भएका छन्।

शुक्रबार सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेपछि सुनुवाइ समितिले उनीहरुविरुद्ध परेका उजुरीबारे थप बुझ्न परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको थियो।

समितिले मंगलबार, बुधबार, बिहीबार र शनिबार समेत बैठक राखेर अरु १८ जनाको नाम अनुमोदन गरेको छ।

सरकारले गत चैत २४ गते ८ राजदूत कर्मचारी र १२ जना राजनीतिक कोटाबाट राजदूत सिफारिस गरेको थियो।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्