मूल्य बढाएको विरोधमा विराटनगरमा रित्तो सिलिन्डरसहित प्रदर्शन

मोरङ – विराटनगरमा उपभोक्ता अधिकारकर्मीहरुले पेट्रोलियम पदार्थदेखि खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यबृद्धिको विरोध गरेका छन्।

विभिन्न उपभोक्ता अधिकार समूहले मंगलबार प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि खाना पकाउने रित्तो ग्यास सिलिण्डर फालेर मूल्यबृद्धिको विरोध गरेका थिए।

पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले सरकारले गरेको चर्को मूल्यबृद्धिले जनतालाई असर पारेको बताए। उनले भने, ‘सांकेतिक रुपमा गरिएको यसप्रकारको विरोधले सरकारलाई जगाउनुपर्ने हो। सरकारले गरेको मूल्यबृद्धि फिर्ता लिनुपर्ने हो। तर, सरकार कहाँ छ खै?’

एकपछि अर्को गर्दै सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि जनतालाई मान्य र सह्य नहुने उनको भनाइ छ। उनले भने, ‘केन्द्र सरकारले गरेको निर्णय नेपाली जनतालाई मान्य छैन। तीन तहको सरकारमध्ये प्रदेश सरकार सुतेको अवस्थामा छ। महँगीले आजित जनताको विषयमा प्रदेश सरकार मौन छ। त्यसैले पनि प्रदेश सरकारलाई झक्झक्याउन आएका हौँ।’

मुख्यमन्त्रीको कार्यालयअघि २० वटा रित्तो सिलिण्डर फालेर प्रदर्शन गरिएको बताएका उनले भने, ‘प्रदेश सरकारलाई लाज हुनुपर्ने हो। जनताको चुल्होमा दिनदिनै महँगीले आक्रान्त बनाएको छ। सरकारले सहुलियत दिनेतर्फ सोच्न सकेको छैन। सरकार निन्द्रामै रमाएको छ।’

विरोधका क्रममा राप्रपाका नेता एवं टोल संगठन विराटनगरका अध्यक्ष राजेश मास्केले सरकारले गरेका मूल्यबृद्धि फिर्ता लिनुपर्ने बताए।

सरकारले केही दिनअघि पेट्रोलियम पदार्थमा १० रुपैयाँ मुल्यबृद्धि गर्दै प्रतिलिटर १ सय ८० रुपैयाँ, खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँ बढाएर १ हजार ८ सय रुपैयाँ पुर्‍याएको छ। यसअघि १ हजार ६ सय रुपैयाँ प्रतिसिलिण्डरको मूल्य थियो।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्