दोस्रो पटक मेयर बनेकी रेनु भन्छिन्,‘भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्छु’

काठमाडौँ – भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पुरा गर्ने बताएकी छन्।

मेयरमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै दाहालले दोस्रो कार्यकालमा आफ्नो संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

‘भरतपुरलाई देशकै हेर्न लायक, गर्व गर्न लायक। देशकै नमुना स्मार्ट सिटीको जुन संकल्प छ। त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भनिन्।

दोस्रो कार्यकाल नै आफ्नो अन्तिम कार्यकाल भएको बताउँदै उनले जनतालाई निराश नबनाउने दाबी गरिन्।

मेयरमा निर्वाचित दाहालले १२ हजार ४४६ मतान्तरले नेकपा एमालेका विजय सुवेदीलाई पराजित गरेकी हुन्। दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा सुवेदीले जम्मा ३९ हजार ५८२ मत ल्याए।

आफूले सोचेभन्दा बढी मत पाएको भन्दै उनले पहिलो कार्यकालमा गरेको कामबाट परीक्षण भएर आएको बताइन्। पहिलो कार्यकालमा अधुरा रहेका कामलाई दोस्रो कार्यकालमा पुरा गर्ने उनले बताइन्।

‘हामीले तीनदेखि सात हजारको मतान्तर हुन्छ कि भन्ने सोचेका थियौँ,ु उनले भनिन्, ‘जनसमुदायले विगतको कामको सहि मुल्यांकन गरेर अनुमोदन गर्नुभएको छ।’ महानगरका अधुरा कामलाई ध्यानमा राखेर भरतपुरलाई देशकै नमुना बनाउने विगतको संकल्प पुरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

आफूले दिने योगदानमा कुनै कमि नगर्ने भन्दै उनले त्यहाँको आवश्यकता र प्राथमिकताका आधारमा काम गर्दै जाने बताइन्।

महानगरमा निर्माणाधीन सिटी हल, प्रशासनिक भवन, नारायणी नदी तटबन्धन, क्रिकेट रंगशाला, रिङरोड लगायतका ठूला गौरवका आयोजनालाई प्राथमिकता दिने उनले बताइन्।

महानगरमा ढल व्यवस्थापनका लागि डीपीआर तयार भइसकेको दाबी गर्दै उनले आगामी आर्थिक वर्षदेखि सुरु हुनेगरी काम थाल्ने बताइन्।

अबको कार्यकालमा महानगरमा बेरोजगारीको अन्त्य गर्ने उनले दाबी गरिन्। स्थानीय सरकार राजनीति गर्ने ठाउँ नभएको भन्दै उनले काममा अनावश्यक अवरोध नआउने उनले विश्वास व्यक्त गरिन्।

उपमेयरमा निर्वाचित अधिकारीले मेयर दाहालका योजना सम्पन्न गर्नमा आफ्नो सहयोगी भूमिका रहने बताए। ‘काम गर्ने क्रममा आउने चुनौतीलाई अवसरका रुपमा लिएर भरतपुरको चौतर्फी विकास गर्नका लागि सहयोगी भूमिका रहन्छ। हाम्रो त्यो दायित्व पनि हो’, उनले भने।

उपमेयरमा निर्वाचित अधिकारीले ५२ हजार ८०३ मत ल्याए। निकटतम प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ६११ मत ल्याइन्।

निर्वाचित मेयर लगायतका जनप्रतिनिधिले आजै साँझ ६ बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्