दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने सरकारको लक्ष्य

काठमाडौँ – सरकारले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने घोषणा गरेको छ।

संघीय संसदको बैठकमा नीति तथा कार्यक्रम पेश गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बताएकी हुन्।

मुक्त कमैया र मुक्त हुन बाँकीहरुका लागि स्थानीय तहले रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने पनि घोषणासमेत गरेकी छन्।

त्यस्तै राष्ट्रिय निकुञ्ज छेउछाउ र नदी किनारका विपन्नका लागि लक्षित कार्यक्रम सञ्चालनमा ल्याइने पनि सरकारले घोषणा गरेको छ।

सरकारले जग्गा नापजाँच गर्न छुट भएका जग्गाको जग्गाधनी पूर्जा उपलब्ध गराउने, भू–उपयोग नीति र कानुन अनुसार भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू–उपयोग योजना तयार गरिने पनि घोषणा गरेको छ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्