सरसफाइको काम वडा कार्यालयबाटै गर्ने जनकपुरधामका नवनिर्वाचित मेयरको पहिलो निर्णय

मनोज साह। तस्बिर: राजा झा

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले कार्यभार सम्हालेका छन्।

मेयरको कार्यभार सम्हाल्दै नवनिर्वाचित मेयर साहले सरसफाइको काम उपमहानगरपालिकाको कार्यालयबाट हुँदै आएकोमा अब नगरका सबै वडाहरुमा आवश्यक जनशक्ति तथा सरसफाइका साधन उपलब्ध गराई विकेन्द्रित रुपमा सम्पन्न गर्ने र यसका लागि २५ वटै वडा कार्यालयहरुलाई सरसफाइको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेका हुन्।

निर्वाचनअघि मेयरका सबै उम्मेदवारले फोहोर व्यवस्थापनलाई आफ्नो पहिलो मुद्दा बनाएका थिए ।

यस्तै प्रमुख साहले उपमहानगरको कार्यालय महाशाखा शाखाहरुमा नियुक्त भएका विज्ञहरुलाई नियुक्त गरिएको कार्य गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेका हुन् ।

यस्तै उपमहानगरपालिकाको कार्यालयले सम्पन्न गर्ने कार्यहरुलाई थप पारदर्शी, निष्पक्ष, उत्तरदायी र सुशासनयुक्त बनाउनका लागि आवश्यक व्यवस्थापन गर्ने मेयर साहले निर्णय गरेका हुन् ।

जेठ १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्